दश लाख मान्छेसहित निजगढ विमानस्थलको शिलान्यास हुन्छ : मन्त्री भट्टराई
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले हरेकजसो कार्यक्रममा निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थल आयोजना र गौतमबुद्ध अन्तराष्ट्रिय विमास्थल सञ्चालनको बारेमा केही न केही बोल्नुहुन्छ । निजगढ विमानस्थल कुनै हालतमा बन्ने र भैरहवाबाट छिटै अन्तर्रा

२०७६ माघ २५ शनिबार, दिउँसो १२:५४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले हरेकजसो कार्यक्रममा निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थल आयोजना र गौतमबुद्ध अन्तराष्ट्रिय विमास्थल सञ्चालनको बारेमा केही न केही बोल्नुहुन्छ ।
निजगढ विमानस्थल कुनै हालतमा बन्ने र भैरहवाबाट छिटै अन्तर्रा्ष्ट्रिय उडान सुरु हुने मन्त्री भट्टराईको दावी हुन्छ । मन्त्री बनेको केही दिनमै गएको साउनमा भैरहवामा भएको कार्यक्रममा मन्त्री भट्टराईले १० लाख मान्छे उतारेर निजगढ विमानस्थलको शिलान्यास गरिने बताउनुभएको थियो ।
उहाँले उपमहानगरपालिकाका मेयरलाई बसभरी मान्छे निजगढ पठाउन तयार रहनसमेत भन्नुभएको थियो । यस्तै डिसेम्बर ७ तारिखमा अन्तर्रा्ष्ट्रिय नागरिक उड्डयन संगठन दिवसको अवसरमा एअरपोर्ट होटलमा भएको कार्यक्रममा मन्त्री भट्टराईले निजगढ अन्तराष्ट्रिय विमानस्थलको बारेमा आवश्यक परेमा अदालतमा पुगेर बहस गर्न सकिने बताउनुभएको थियो ।
उहाँले सन् २०२० को सुरुमै भैरहवा अन्तर्राष्ट्रय विमानस्थलबाट अन्तर्रा्ष्ट्रिय उडान हुने पनि दावी गर्नुभएको थियो । तर आयोजना सम्पन्न नभएपछि अब उहाँले जेठभित्रै उडान हुने बताउन थाल्नुभएको छ ।
बुधबार नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालका विमानस्थलको अवस्थाका बारेमा जानकारी दिन गरेको पत्रकार सम्मेलनमा पनि उहाँले भैरहवा र निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थलबारे हल्का जवाफ दिनुभयो । निजगढको शिलान्यास र भैरहवाबाट अन्तर्रा्ष्ट्रिय उडान हुनेबारे गम्भिर जवाफ दिनुभएन ।
निजगढमा हजारौँ मान्छे उतारेर मंसिरमै विमानस्थलको शिलान्यास गर्ने भन्नुभएको थियो, कुरा मात्रै भयो काम किन भएन मन्त्री ज्यू ? पत्रकारको प्रश्नमा मन्त्री भट्टराईले भन्नुभयो, ‘निजगढमा हजारौँ होइन लाखौँ मान्छे उतार्छु भनेको हो मैले, तपाइँले सुन्न भुल्नुभएछ, अझै लाख पनि होइन, १० लाख भनेको मैले, र १० लाख मान्छे उतार्नुपर्छ, त्यो देशको गेम चेञ्जर आयोजना हो, यसमा सिंगो नेपाल एक ठाउँमा हुनुपर्छ, त्यसैले १० लाख भनेको हो मैले तर ३ करोड उतार्छु त भनेको छैन नि ।’
उहाँले निजगढमा जग्गा अधिग्रहणको काम लगभग सकिएको, तारबार भैरहेको र लगानी बोर्डले आयोजना निर्माणकर्ता छान्न प्रक्रिया सुरु गरेको पनि जानकारी दिनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…