जनकपुरमा सिडिओ र एसपी विरुद्ध नाराबाजी, भानुचोकमा चक्काजाम !
जानकी मन्दिरको जग्गा अतिक्रमणमा जनकपुरका मेयर साहको पनि सँलग्नता रहेको भन्दै समाजिक सञ्जालमा टिकाटिप्पणी

२०७६ माघ २१ मंगलबार, दिउँसो १:०२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाका प्रहरी उपरीक्षक (एसपी) र प्रमुख जिल्ला अधिकारी (सिडिओ) विरुद्ध युवाहरु नारावाजी गरेका छन् ।
जनकपुरका व्यापारी धर्मेन्द्र साहलाई पक्राउ गरिएपछि राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल निकटका युवाहरुले सिडिओ र एसपी विरुद्ध नारावाजी गरेका हुन् । उनीहरु सिडिओ प्रदीपराज कनेल र एसपी रमेश बस्नेत विरुद्ध नारावाजी गर्दै भानुचोकमा चक्काजाम समेत गरेको छ ।
गत आईतबार युवा व्यापारी साहलाई धनुषा प्रहरीले पक्राउ गरेपछि राजपाका नेता तथा कार्यकर्ताहरु विरोधमा उत्रेका छन् । भानुचोक सहित विभिन्न चोकहरुमा टायर बालेर प्रदर्शन उनीहरुले गरेका छन् । “सिडिओ एपसी मूर्दावाद, भ्रष्ट सिडिओलाई सरुवा गर, भ्रष्ट एसपीलाई सरुवा गर” जस्ता नाराहरु लगाउँदै विरोध गरेका छन् ।

भानुचोकमा त्यही युवाहरुले आम सर्वसाधारणहरुलाई दुःख दिएको छ । भानुचोक भएर आवतजावत गर्ने बस, रिक्सालाई रोकेर राखेपछि बाहिरबाट जनकपुर आएका सर्वसाधारणहरु मार्कामा परेका छन् । उता, गरिब, निमुखाहरुले रोजीरोटीको लागि चलाउँदै आएको सार्वजनिक बस, रिक्सा समेत चल्न नदिएपछि उनीहरुलाई थप पीडा भएको छ ।
स्थानीय एक व्यापारीका अनुसार, ती युवाहरु कसैको उक्साहटमा सिडिओ र एसपी विरुद्ध नारावाजी सहित चक्काजाम गरेको बताए । राजनीतिक पार्टीगत हिसाबले उनीहरुबाट उक्साएर नारावाजी गर्न लगाएको बताइएको छ ।
गत पुस २२ गते जनकपुरका मेयर लालकिशोर साहको कार्यकक्षमै पत्रकारहरु उपर कुटपिट सहित समान समेत खोसिदिएपछि नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष अनिल मिश्रले ४ जना उपर किटानी जाहेरी दिएपछि साहलाई पक्राउ गरिएको हो । बाँकी ३ जना अझै जनकपुरबाट फरार भएका छन् ।
धर्मेन्द्र साहलाई पक्राउ गरिएपनि सोही दिनदेखि उनको रिहाईको लागि जनकपुरका मेयर सहित राजपाका नेताहरु समेत जिल्ला प्रहरी कार्यालय धनुषा गएपछि प्रहरीले साहलाई रिहा भने गरेका छैनन् ।

यता, जनकपुरकै केही युवाहरुले भने जानकी मन्दिर अतिक्रमणमा सँलग्नहरुलाई कारवाहीको माग गर्दै जानकी चोकमा प्रदर्शन गरेको छ । जानकी मन्दिरको जग्गा अतिक्रमणमा जनकपुरका मेयर साहको पनि सँलग्नता रहेको भन्दै समाजिक सञ्जालमा टिकाटिप्पणी आएपछि सत्यतथ्यको माग गर्दै प्रदर्शन गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…