'स्ववियु निर्वाचन हुने नहुनेमा अन्यौलता'
फागुन १४ गते हुने भनेको स्ववियु निर्वाचन हुने नहुनेमा अझसम्म पनि शङ्का गर्न सकिने ठाउँहरू छन् ।
२०७६ माघ २० सोमबार, दिउँसो ४:५२ बजे२ मिनेट पढाइ

स्ववियु निर्वाचन देशमा भैरहेको राजनीतिक परिस्थितिहरुलाई टेस्ट एउटा फेज हो। यसको साथसाथै विद्यार्थीको एउटा नेतृत्व विकास र शिक्षा क्षेत्रमा ल्याउनुपर्ने परिवर्तनको निम्ति विद्यार्थीहरुले उठाउनुपर्ने अवाजको निम्ति नेतृत्वहरुलाई स्थापित गराउन र साथसाथै क्याम्पस तथा विश्वविद्यालयहरुमा विद्यार्थीहरुलाई परेका समस्याका लागी आवाज उठाउने एउटा स्वतन्त्र निकाय हो।
विद्यार्थी आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको स्वतन्त्र विद्यार्थी युनियनको आसन्न निर्वाचनले देशभरिकै क्याम्पसहरूको माहोल तातिरहेको बेला विद्यार्थी सङ्गठनहरूकै अर्कमण्यताका कारण चुनाव हुनेनहुनेबारे फेरि पनि आशङ्का पैदा भइरहेको छ ।
स्ववियु यस्तो थलो होस जहाँबाट प्रमुख राजनीतिक दलरूले होनहार कार्यकर्ता र नेता पाइरहेको इतिहास छ । मिनि संसदका रूपमा समेत हेरिने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनले देशभर नै राजनीतिक तरङ्ग ल्याउने गर्छ ।
देशका विभिन्न विश्वविद्यालय तथा क्याम्पसमा हुने निर्वाचनको तथ्याङ्कलाई आधार मानेर राजनीतिक पार्टीको हैसियतलाई समेत पनि मूल्याङ्कन गरिने हुँदा पनि स्ववियु चुनावले विशेष अर्थ राख्दछ ।
तर यति धेरै महत्व बोकेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई स्थगित गरेर बेलाबखतमा घाँटी थिच्ने काम पनि विद्यार्थी सङ्गठनहरूबाटै भइरहेकोे आरोपसमेत लाग्ने गरेको छ । निरङ्कुश राजतन्त्रात्मक शासन प्रणाली भएको समयमा पनि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने गर्दथ्यो ।
पञ्चायत कालमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनले तथा विद्यार्थी राजनीतिले छलाङ नै मारेको भन्न सकिन्छ । तत्कालीन समयमा हरेक दुई–दुई वर्षमा हुनुपर्ने निर्वाचन २०४०÷४१ सालमा वर्षैपिच्छेसमेत भएको इतिहास छ ।
राजनीतिक परिर्वतनका कारण ०४७ सालमा नभएको स्ववियु निर्वाचन देश बहुदलीय व्यवस्थामा प्रवेश गरेसँगै लामो समयसम्म सम्पन्न हुन सकेन । यसको मुख्य कारण विद्यार्थी सङ्गठनले आफ्ना मूल मुद्दालाई लात मारी राजनीतिक मुद्दामा ध्यान केन्द्रित गर्दै गुण्डागर्दी, अनुशासनहीनता, अराजकता तथा अनियमितताजस्ता कुरामा सङ्गठन र कार्यकर्तालाई लिप्त बनाई राख्नु रहेको बताइन्छ ।
एक समय राजनीतिक आन्दोलनमा प्रमुख भुमिका खेलेका विद्यार्थी संगठनहरू आन्तरिक किचलो, झै–झगडा, गुन्डागर्दीमा आफ्नो सम्पूर्ण समय व्यतीत गरेकाले उनीहरूको पक्षमा अनुकुल चुनावी वातावरण नबन्ने हुँदा चुनाव नै गराउन चाहँदैनन् भन्ने आम विद्यार्थी तथा सरोकारवालाहरूको बुझाइ रहेको पाइन्छ ।
जसको कारण अहिलेपनि चुनाव हुने कुरामा आशंका छ र विद्यार्थी संगठनहरू तथा सरोकारवाला विश्वविद्यालय समेतले यी आशंकाहरूको चिरफार गर्न सकिरहेका छैनन् ।
केही विद्यार्थी संगठनहरू यस्ता पनि छन् विभिन्न गुट तथा उपगुट बनाएर आफैँमा आरोप प्रत्यारोपणमा उत्रिने र स्ववियु निर्वाचनलाई प्रभावित पारी चुनाव नगराउने नियतबाट पनि विद्यार्थी संगठनहरू मुक्त हुन सकेका छैनन् ।
आन्तरिक मामिलालाई समाधान गर्न नसक्ने विद्यार्थी संगठनका कारणले समेत स्ववियु निर्वाचन प्रभावित हुने गरेको पाइन्छ । यसको प्रभाव समग्र विद्यार्थीको एजेण्डामा पर्ने निश्चित छ ।
आम विद्यार्थीहरू ठूला भनिएकै विद्यार्थी सङ्गठनका कारण नै चुनाव नहुने कुरामा ढुक्कजस्तै छन् । उनीहरू स्ववियु चुनाव गराइ स्ववियुलाई चुस्तदुरुस्त राख्न चाहन्छन् तर विगतका इतिहासले उनीहरूलाई घचघच्याइ रहन्छ र दिमागमा त्यही स्क्रिप्ट दोहोरिन्छः जिन्दावाद मुर्दावाद, कुटपिट, काटाकाट, मारामार क्याम्पस आगजनी र तोडफोड र परिणाम चुनाव स्थगित ।
फागुन १४ गते हुने भनेको स्ववियु निर्वाचन हुने नहुनेमा अझसम्म पनि शङ्का गर्न सकिने ठाउँहरू छन् ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…