मकर मेलामा आज ठुलो भीड, तेजपात (पतरक) को मूल्य दोब्बर !
अमावश्या तिथिका दिन मध्यरातमा मणिसहितको नाग देखिने र पूरै मन्दिर हरियो रङले रंगिने जनविश्वास छ ।

२०७६ माघ १९ आइतबार, दिउँसो २:४७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । तराई मधेशको ऐतिहासिक मेला भनेर चिनिने मकर मेलामा आज यस वर्षकै सबभन्दा बढी र ठुलो भीड देखिएको छ ।
प्रत्येक वर्ष माघ मसान्तभरि हरेक आईतबार लाग्ने मकर मेलामा गएको दुई मकरभन्दा ठुलो भीड लागेको छ । आज सबभन्दा बढी भारतका यात्रुहरुको भीड रहेको देखिएको छ । दर्शनको लागि धनुष महाराजको मन्दिरमा भिड भडक्का ठुलै देखिएको छ ।
सोही भीडलाई मध्यनजर गर्दै मकरको आकर्षणको केन्द्र मानिएको तेजपात (तैरपात, पतरक) को मूल्य अन्य दिनभन्दा दोब्बर रहेको छ । गएको दुई मकर मेलामा ५० रुपैयाँ प्रति किलो रहेको तेजपात आज मात्र १०० रुपैयाँ प्रतिकिलो विक्री वितरण भईरहेको छ भने मेला भर्नेकोहरु भीडका कारण केही बेरमै सबै तेजपात विक्री हुन लागेको अवस्थामा पुगेको छ ।

धनुषाधामको मकर मेलाको मुख्य आकर्षण भनेकै तेजपातको व्यापार हो । तरकारीमा प्रयोग गरिने एक प्रकारको पात (मसला) खरिदविक्री सबभन्दा बढी हुन्छ । एक वर्षको लागि आम सर्वसाधारणहरुले किन्ने गरेको छ । भारतबाट आएका हजारौंको सँख्याको दर्शालुहरुले चारचक्के गाडीमा तेजपात ढुवानी गरेको देखियो ।
माघको प्रत्येक आइतबार यहाँ मकर मेला लाग्छ । श्रद्धालु भक्तजनहरुले धनुष मन्दिरमा दर्शनपूजा गरेका छन् । ऐतिहासिक, धार्मिक एवं पौराणिक महत्वको धनुषाधाम मकर मेला भर्न आउने श्रद्धालुभक्तजनको संख्या प्रत्येक वर्ष बढ्दै गएको अनुमान गरिन्छ ।
मिथिला महात्म्यका अनुसार पाँच मकर स्नान गरेर धनुषको दर्शन गरेपछि एक सय रामेश्वरको दर्शन गरेसरह हुन्छ । परम्परागत हिसाबले पनि वर्षभरी गरिएको आकलभाकल माघभरि चढाउने गरिन्छ । त्रेतायुगमा राजा जनकले छोरी जानकीको विवाहका लागि आयोजना गरेको सीता स्वंयबरमा श्रीरामले भाँचेको धनुषको एक टुक्रा आकाश, अर्को पाताल र मध्य टुक्रा धनुषाधाममा झरेको किंवदन्ती छ ।
‘विष्णु पुराण’का अनुसार त्रिपुरासुर संग्राम भएपछि दधिचि मुनिको हाडबाट बनेको धनुष धनुषशंकर परशुरामलाई दिइएको थियो । परशुरामले उक्त धनुष राजा जनकलाई दिएका थिए । रामले उक्त धनुषमा वाण चलाउदा तीन टुक्रा भएको थियो ।
एक टुक्रा आकाश हुँदै भारतको दक्षिण प्रान्त रामेश्वर, दोस्रो टुक्रा पाताल र तेस्रो जनकपुरको धनुष क्षेत्रमा छन् । धनुष खसेको जनकपुरको पोखरी धनुषसागरले चिनिन्छ । मध्यभाग आएर खसेको ठाउँमात्रा धनुषाधाम रहेको मन्दिरका पुजारी महन्थ भरत दासले बताए ।
धनुषधाममा खसेको धनुषको कालो रङको शिलामाथि अहिले पीपलको रुख छ । उक्त रुख पाँच सय वर्ष पुरानो रहेको विश्वास गरिन्छ । पीपलको बोटमुनि नागको बास रहेको बताइन्छ । अमावश्या तिथिका दिन मध्यरातमा मणिसहितको नाग देखिने र पूरै मन्दिर हरियो रङले रंगिने जनविश्वास छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…