प्रदेश २ मा राष्ट्रिय सभा चुनावको सम्पूर्ण तयारी पूरा
शान्तिपूर्ण वातावरणमा स्वच्छ तथा निष्पक्ष रुपमा मतदान सम्पन्न सुरक्षाकर्मी परिचालन गरिसकिएको छ ।

२०७६ माघ ८ बुधबार, बेलुकी ६:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय सभा सदस्य चुनावको लागि प्रदेश २ मा सम्पूर्ण तयारी पूरा भएको छ ।
स्वच्छ, निष्पक्ष र व्यवस्थित ढङ्गले निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक तयारी पूरा भएको निर्वाचन अधिकृत राजकुमार खतिवडाले जनाएका छन् । उनले मतदान अधिकृत तोकेर मतपेटिका, मतपत्र र मतदाता नामावली सहितको सम्पूर्ण सामग्री जिम्मा लगाइ सकिएको जानकारी दिएका हुन् ।
चुनावका लागि जनकपुरमा रहेको महेन्द्र नारायणनिधि संस्कृति केन्द्रमा पालिका, मतदाता र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै दुईवटा मतदान केन्द्रको व्यवस्था मिलाइएको छ । प्रत्येक मतदान केन्द्रका लागि मतदान अधिकृत बाहेक ८ जना कर्मचारी खटाइएको छ ।
अधिकृत खतिवडाका अनुसार चुनाव सकिएलगत्तै मतगणनाको प्रक्रिया शुरु हुनेछ । शान्तिपूर्ण वातावरणमा स्वच्छ तथा निष्पक्ष रुपमा मतदान सम्पन्न सुरक्षाकर्मी परिचालन गरिसकिएको छ ।
प्रदेश २ मा राष्ट्रियसभा सदस्यको चार पदका लागि हुन गइरहेको चुनावमा आठ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । महिला समूह अन्तर्गत एक पदका लागि नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट तुलसाकुमारी दाहाल र नेपाली कांग्रेसको तर्फबाट नगिना यादवबीच प्रतिस्पर्धा हुने भएको छ ।
त्यस्तै, दलित समूहतर्फ नेपाल कम्युनिष्ट पार्टीका राधेश्याम पासवान र समाजवादी पार्टीका रामपृत पासवान प्रतिस्पर्धामा रहेका छन् । त्यस्तै, अल्पसंख्यक समूह अन्तर्गत नेपाली कांग्रेसबाट भोला पञ्जियार र राजपाबाट शेखरकुमार सिंह रहेका छन् ।
अन्य समूहतर्फ समाजवादीका अनिरुद्धकुमार सिंह र राजपाका मृगेन्द्रकुमार सिंह चुनावी प्रतिस्पर्धामा रहेका छन् । चुनावमा प्रदेश २ को प्रदेशसभा सदस्यका साथै स्थानीय तहका नगरपालिकाका प्रमुख, उपप्रमुख र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले मतदान गर्नेछन् ।
प्रदेशसभा सदस्य १ सय ७ जना र स्थानीय तहका नगरप्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष २ सय ७२ जना गरी कूल ३ सय ७९ जना मतदाता रहेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…