आज मधेशको दोस्रो ठुलो मकर मेला, भन्टाभार चढाउनेको भीड
बाहिर बाट आएका व्यापारीहरु एक महिनासम्म अर्थात माघ अन्तिमसम्म डेरा बस्ने गर्छन् ।

२०७६ माघ ५ आइतबार, बिहान ९:१३ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्लाको पूर्वी उत्तरी क्षेत्रस्थित धनुषाधाममा माघ महिनाको प्रत्येक आइतबार लाग्ने मकर मेलाको आज पहिलो आइतबार मेला भर्न श्रद्धालुभक्तजनको भीड लागेको छ । माघको प्रत्येक आइतबार मकर मेला लाग्छ । श्रद्धालु भक्तजनले धनुष मन्दिरमा दर्शनपूजा गरेका छन् ।
ऐतिहासिक, धार्मिक एवं पौराणिक महत्वको धनुषाधाम मकर मेला भर्न आउने श्रद्धालुभक्तजनको संख्या प्रत्येक वर्ष बढ्दै गएको अनुमान गरिन्छ । मिथिला महात्म्यका अनुसार पाँच मकर स्नान गरेर धनुषको दर्शन गरेपछि एक सय रामेश्वरको दर्शन गरेसरह हुन्छ । परम्परागत हिसाबले पनि वर्षभरी गरिएको आकलभाकल माघभरि चढाउने गरिन्छ । त्रेतायुगमा राजा जनकले छोरी जानकीको विवाहका लागि आयोजना गरेको सीता स्वंयबरमा श्रीरामले भाँचेको धनुषको एक टुक्रा आकाश, अर्को पाताल र मध्य टुक्रा धनुषाधाममा झरेको किंवदन्ती छ ।
.jpeg)
‘विष्णु पुराण’का अनुसार त्रिपुरासुर संग्राम भएपछि दधिचि मुनिको हाडबाट बनेको धनुष धनुषशंकर परशुरामलाई दिइएको थियो । परशुरामले उक्त धनुष राजा जनकलाई दिएका थिए । रामले उक्त धनुषमा वाण चलाउदा तीन टुक्रा भएको थियो । एक टुक्रा आकाश हुँदै भारतको दक्षिण प्रान्त रामेश्वर, दोस्रो टुक्रा पाताल र तेस्रो जनकपुरको धनुष क्षेत्रमा छन् । धनु खसेको जनकपुरको पोखरी धनुषसागरले चिनिन्छ । मध्यभाग आएर खसेको ठाउँ धनुषाधाम रहेको मन्दिरका महन्थ भरत दासले बताउनुभयो ।
धनुषधाममा खसेको धनुषको कालो रङको शिलामाथि अहिले पीपलको रुख छ । उक्त रुख पाँच सय वर्ष पुरानो रहेको विश्वास गरिन्छ । पीपलको बोटमुनि नागको बास रहेको बताइन्छ । अमावश्या तिथिका दिन मध्यरातमा मणिसहितको नाग देखिने र पूरै मन्दिर हरियो रङले रंगिने जनविश्वास छ ।
धनुषको मध्यटुक्रा झरेको स्थानमा धनुषबाबाको मन्दिर निर्माणपछि माघमा मकर मेला लाग्ने गरेको छ । भक्तजनले धनुषको टुक्रामा पुष्पजल अर्पण गर्छन् । जनकपुरदेखि करिब १९ किमी उत्तरपूर्वमा रहेको धनुषाधाममा धनुषको पूजार्चना गर्न वर्षेनी लाखौँको संख्यामा स्वदेशी तथा विदेशी विशेषगरी भारतीय पर्यटक आउँछन् । यहाँ अमेरिका, थाइल्याण्ड, सिंगापुरलगायत अन्य देशबाट पनि पर्यटक आउँछन् । वर्षेनी धनुषको आकार बढ्दै गएको मन्दिरका महन्थ दासले बताउनुभयो ।
शरिरमा पलाउने मुसो (अैल्हा) लगायत छाला रोग निको हुने जनविश्वास अनुसार श्रद्धालुहरुले भाँटा (भन्टा भार) चढाउने गरिन्छ । एक महिनासम्म प्रत्येक आईतबार लाग्ने उक्त मकर मेलामा भाँटाकै व्यपार पनि लाखौंमा हुन्छन् । मुसो रोग निको हुनको लागि धनुष महाराजलाई भाकल गरे अनुसार भन्टा भार चढाउने परम्परा रहिआएको छ ।
मकर मेलाको मुख्य आकर्षण भनेको तेजपात (तैरपात, पतरक) हो । सब्जीको लागि उपयुक्त बासनादार मशाला मानिएको तेजपातको व्यापार एक महिनाको अन्तरालमा करौडौंमा हुन्छन् । मेला प्रत्येक आईतबार लागेपछि तेजपातको विक्री भने महिनाभरि प्रत्येक दिन हुन्छन् । बाहिर बाट आएका व्यापारीहरु एक महिनासम्म अर्थात माघ अन्तिमसम्म डेरा बस्ने गर्छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…