अब मिर्चैयामै क्वालिटीफूल गीत रेकर्डिंगदेखि फिल्म निर्माणसम्म
मधेशका कलाकारहरुमा गुणस्तर र फरक अन्दाजको गीत तथा म्यूजिक भिडियो निर्माणका लागि ठूला सहर र स्टुडियो धाउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास गरिएको छ ।

२०७६ माघ ४ शनिबार, दिउँसो २:५९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । कलाकारिताको सम्भावना र प्रतिभा हुँदाहुँदै प्रतिभा उजागर गर्ने माध्यमको अभावमा मधेशको कलाकारिता क्षेत्रमा ओझेलता देखिन्छ ।
यतिबेला अवैध रुपमा सञ्चालनमा देखिएका गीत प्रोडक्सन हाउसहरुमा क्वालिटी त परै जाओस्, नक्कलबाजीको विगविगी बढ्दो छ । गुणस्तर र फरक अन्दाजको गीत तथा म्यूजिक भिडियो निर्माणका लागि मधेशका कलाकारहरुमा ठूला सहर र स्टुडियो धाउनुपर्ने बाध्यता छ ।
तर, अब भने मधेश क्षेत्रका कलाकारहरुको यी यावत समस्यालाई विकल्प दिन सिरहाको मिर्चैयामै भिडियो प्रोडक्सन तथा गीत रेकर्डिंग स्टुडियो सञ्चालनमा ल्याइएको छ । मिर्चैया–५ स्थित साझाचोकमा शनिबारदेखि अवी फन म्यूजिक प्रोडक्सन तथा मधेश ईन्टरटेनमेन्ट प्रोडक्सन प्रालि विधिवत् रुपमा सञ्चालनमा आएको हो ।
प्रोडक्सन हाउस पहिलादेखि नै अनौपचारिक रुपमा सञ्चालनमा रहेपनि कार्यालय व्यवस्थित गरेर आजदेखि औपचारिक रुपमा उद्घाटन गरी सञ्चालन गरिएको छ । अवि फन तथा मधेश ईन्टरटेनमेन्टबाट निर्माण हुने गीत तथा म्यूजिक भिडियोमा प्रोड्युसरका रुपमा काम गर्दै आएका सन्दिप यादव र दयानाथ कापरले रिवन काटी प्रोडक्सन हाउसको उद्घाटन गरेका हुन् ।
प्रोडक्सन हाउसको उद्घाटनसँगै अबदेखि मिर्चैयामै गीत रेकर्डिंगदेखि लिएर चलचित्र निर्माणसम्मका कार्य हुने भएको छ । प्रोडक्सन हाउसमा गीत निर्माणदेखि लिएर म्यूजिक भिडियो निर्माण, टेलिचलचित्र र चलचित्र निर्माणसम्मका काम हुने अवि फनका सञ्चालक अविनाश गुप्ताले जानकारी दिए ।

नक्कलबाजी प्रवृतिलाई परास्त गर्न नितान्त नयाँ र क्वालिटीलाई पहिलो प्राथमिकता राखेर प्रोडक्सन हाउस सञ्चालन गरिएको उनले जनाए । आधुनिक प्रविधियुक्त प्रोडक्सन हाउस भएकाले क्वालिटीफूल म्यूजिक भिडियोदेखि चलचित्र, टेलिश्रृंखलासम्म सबै निर्माण गर्न अब बाहिर धाउनुनपर्ने र सजिलो हुने मधेश ईन्टरटेनमेन्टका सञ्चालक अमृत साहले विश्वास लिए ।
परम्परागत गीत संगितको संरक्षणका लागि नयाँनयाँ गीतहरुको सृजना भएर प्रतिभाहरुले आफ्नै गाउँ ठाउँमा अवसर पाउने उद्देश्यले लामो प्रयास पश्चात् मिर्चैयामै प्रोडक्सन हाउस सञ्चालनमा आएकोमा सोही टिमसँग काम गर्दै आएका मधेश क्षेत्रका उदाउँदा गायक जागेश ठाकुरले खुशी व्यक्त गरे । लोप हुन थालेको गीत, संगीत तथा संस्कृति जगेर्नाका साथै संरक्षणको कार्य आफूहरुको उच्च प्राथमिकतामा रहेको पनि उनले बताए ।
प्रोडक्सन हाउसले उद्घाटनको अवसर पारेर ७ दिनसम्म निःशुल्क रेकर्डिंग सेवासमेत दिएको छ । प्रदेश २ को प्रमुख व्यापारिक सहरमध्ये एक मिर्चैयामा प्रोडक्सन हाउस निर्माण र सञ्चालनले काठमाडौं, पटना, दिल्ली तथा अन्य ठाउँ जानुपर्ने बाध्यतामा कमी आउने विश्वास गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…