जनकपुरमा सरसफाई अभियानीहरुलाई सम्मान
५२ औं सप्ताह सरसफाई गरी अभियानलाई थप उर्जावान बनाउन वार्षिकोत्सव मनाएको बताइएको छ ।

२०७६ पुस २१ सोमबार, बिहान ८:२५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा निरन्तर समाजसेवा र सफाई अभियानमा लागेका अभियानीहरुलाई एक समारोहबीच सम्मान गरिएको छ ।
जनकपुर रेल्वे ट्रैक साप्ताहिक सरसफाइको प्रथम वार्षिकोत्सवको अवसरमा अभियानीहरुलाई सम्मान गरिएको हो । रेल्वे ट्रयाक साप्ताहिक सरसफाई अभियानकी सँयोजक अभियानी रुवि झाको अध्यक्षता तथा प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त वार्षिकोत्सव समारोहमा सरसफाई क्षेत्रमा महत्वपूर्ण योग्दान तथा पर्यावरण जोगाउन दिएको योग्दानलाई कदर गर्दै सम्मान गरिएको हो ।
सरसफाई कार्यक्रममा विशेष योगदान दिने सरसफाई अभियानीहरुलाई सम्मान समेत दिइएको छ । जनकपुर रेल्वे ट्रैक साप्ताहिक सरसफाइको लागि रुबि झा, दिपक कुमार चौधरीको अगुवाईमा प्रत्येक शनिवार सरसफाई गरिदै आएको छ । नेपालको ऐतिहासिक रेल्वेको अस्तित्व फोहोर मैलामा परिणत नहोस भन्ने उदेश्यले अभियानीहरु रेल्वे स्टेशनलाई लक्षित गरी फालिएको फोहोर मैला उठाउँदै स्थानीयहरुलाई सचेत समेत गराउँदै आएको छ ।
विगत एक वर्षदेखि निरन्तर ५२ औं सप्ताह सरसफाई गरी अभियानलाई थप उर्जावान बनाउन वार्षिकोत्सव मनाएको बताइएको छ । अभियानीहरुले यस अभियानलाई निरन्तरता दिने र जनमानसमा सचेतना नभएसम्म अर्थात पूर्ण सरसफाईको अवधारणा कायम नभएसम्म अभिायन जारी राख्ने बताएका छन् ।
कार्यक्रममा सरसफाई क्षेत्रमा सहयोग गर्नुको साथै सामाजिक सेवामा सक्रिय रहनुहुने कामाख्या परिवारका सदस्य समाजसेवी ललिता लाभ, बाल क्लव अभियानी रककी साह, महिला अधिकारकर्मी सुभद्रा आले, समाजसेवी संजु यादवलगायतलाई प्रदेश प्रमुख तिलक परियार र कार्यक्रम संयोजक रुवि झाले दोसल्लासहित प्रशंसा पत्र प्रदान गर्दै सम्मान गरेका छन् ।
वार्षिकोत्सवमा मधेसी आयोगका अध्यक्ष बिजय दत्त, स्वच्छता अभियन्ता सांसद रामआशिष यादव, शहिदनगर नगरपालिकाका नगर प्रमुख उदय बरबरिया, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेल, समाजसेवी अमरचन्द्र अनिल, कामाख्या परिवारका अध्यक्ष विभास लाभ, प्रदेश सरकारका समाजसेवी कर्मचारी सुरेश शर्मा, महिला अधिकारकर्मी सुभद्रा आले, दुधमती गरिमा संरक्षण समितिका संस्थापक जैसिलाल मण्डल, स्वच्छता अभियन्ता कृष्णचन्द्र यादब, बजरंग यादव , समाजसेवी प्रभु दयाल जलान, सशस्त्र प्रहरीका एसपी राजेश उप्रेती, नेपााल प्रहरीका एसपी रमेशकुमार बस्नेत, धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेललगायतको सहभागिता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…