एआईजी बढुवा सिफारिसविरुद्ध डीआईजीले दिए उजुरी
एआईजीमा सिफारिस भएकी आशा मधेशी समुदायबाटै नेपाल प्रहरीको उच्च पदमा पुग्ने पहिलो मधेशी महिला हुन् ।

२०७६ पुस १८ शुक्रबार, बेलुकी ७:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । नेपाल प्रहरी अस्पतालमा कार्यरत डा. आशा सिंहलाई एआईजीमा बढुवा सिफारिस गर्ने निर्णयविरुद्ध नेपाल प्रहरी अस्पतालका डीआईजी डा. मिनराज पाठकले उजुरी दिएका छन् ।
डीआईजी पाठकले कनिष्ठलाई बढुवा सिफारिस गरेका भन्दै लोकसेवाको बढुवा तथा विभागीय सजाय परामर्श शाखामा उजुरी दिएका हुन् । शुक्रबार उजुरी दिँदै आफूभन्दा कनिष्ठ डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गर्ने निर्णय बदर गर्न माग समेत डीआईजी पाठकले गरेका छन् ।
‘२०५२ सालमा प्राविधिक प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका बेलादेखि डीएसपी, एसपी, एसएसपी र डीआईजी बढुवा हुँदासम्म पहिलो नम्बरमा थिए,’ पाठकले भने, ‘आफूलाई पछिल्लो ३ आवको कार्यसम्पादन मूल्याङ्कनमै अन्याय गरिएको छ । त्यसको पनि छानबिन होस् ।’
गत पुस १४ गते गृहसचिव प्रेमकुमार राई अध्यक्ष, प्रधानमन्त्री कार्यालयका सचिव सदस्य, प्रहरी महानिरीक्षक सदस्य सचिव रहेको बढुवा सिफारिस समितिले प्रहरी अस्पतालको एआईजीमा बरियताक्रममा दोस्रो नम्बरमा रहेकी सिंहलाई बढुवा गर्न सिफारिस गरेको थियो । एआईजीमा सिफारिस भएकी आशा मधेशी समुदायबाटै नेपाल प्रहरीको उच्च पदमा पुग्ने पहिलो मधेशी महिला हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…