जनकपुर : उँखु किसानको न्यायको लागि पानीमै प्रदर्शन
विहिबारदेखि परेको बर्षाको झरीमा किसानहरु आन्दोलनका बैनरहरु ओढेर जाडो छल्दै आफ्नो हक अधिकार खोज्दैछन् ।

२०७६ पुस १८ शुक्रबार, बेलुकी ५:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । यति बेला सर्लाहीका पीडित उँखु किसानको समर्थनमा देशविदेशबाट समर्थन जुटिरहेको बेला जनकपुरमा समेत पानीमै प्रर्दशन गरिएको छ ।
जनकपुरका अगुवा युवाहरुले जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ रामानन्दचोकमा बर्षाकै झरीमा प्रदर्शन गरेका छन् । सर्लाहीका उँखु किसानहरुको भुक्तानीको लागि वर्तमान नेपाल सरकारले ध्यान नदिएको तथा किसानहरुको श्रम बेचेर खाएको आरोप लगाउँदै युवाहरुले किसानको समर्थनमा प्रदर्शन गरेका छन् ।
रामानन्दचोकको बीच सडकमै उभिएर हातमा प्लेकार्ड बोकी युवाहरुले किसानको समर्थन तथा सरकारको विरोधमा चर्को नारा धन्काएका हुन् । मौसम खराब भएपनि उँखु किसानको पीडाभन्दा बर्षाको झरी ठुलो नभएको भन्दै युवाहरुले पानी परिरहँदा समेत प्रदर्शन गरेका हुन् । जनकपुरका युवा अगुवा सरोज मिश्राको नेतृत्वमा उँखु किसानको माग सम्बोधन हेतु प्रर्दशन गरिएको हो ।

“किसानसँगको माया, श्रम हाम्रो सरकारले खाईदियो, मील मालिकसँग मिलेर हाम्रा मन्त्रीहरु पिडित किसानको बली चढाईदियो” जस्ता नाराहरु चर्काउँदै सरकारको विरोध गरेका हुन् । विगत १३ दिनदेखि सर्लाहीका किसानहरु निरन्तर रुपमा काठमान्डौंको माईतीघर मण्डलामा आफ्नो श्रमको भूक्तानी माग गर्दै सरकार गुहारेपनि सरकार कानमा तेल हालेर बसेको आरोप युवाहरुले लगाएका छन् ।
आज (शुक्रबार) अपरान्ह ४ः३० बजेदेखि ५ः१५ बजेसम्म रामानन्दचोकमा सडक जाम गरी बर्षाकै झरीमा युवाहरुले किसानलाई समर्थन जनाएका छन् । युवा अगुवा शुशिल कर्ण, किसन साह, दीपक ठाकुर लगायतका युवाहरुले प्रदर्शन गरेका थिए । सर्लाहीका महालक्ष्मी सुगर मिल र अन्नपूर्ण सुगर मिलले मात्र किसानलाई करिब १ अर्ब रुपैयाँ भुक्तानी बाँकी राखेको हो ।
विगत ७ वर्षदेखि किसानहरुको भुक्तानी नदिँद किसानहरु झन ऋणमा डुब्दै गएपनि ऋण काढेरै राजधानीमा सरकार खोज्दै १३ दिनदेखि धर्ना दिँदै आएका हुन् । विहिबारदेखि परेको बर्षाको झरीमा किसानहरु आन्दोलनका बैनरहरु ओढेर जाडो छल्दै आफ्नो हक अधिकार खोज्दैछन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…