मधेशी जनताको लास बेचेर नेताले जोडेको सम्पत्ति कब्जा गरौं, समाधान त्यहीँ छ : डा. राउत
डा. राउतले उनीहरू फेरि मन्त्री बन्ने लोभमा कहिले किसान मर्लान् र लास लगेर प्रदर्शन सुरु गरौंला भनेर कुरेर बसेका लेखेका छन् ।

२०७६ पुस १८ शुक्रबार, दिउँसो ३:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मधेश क्षेत्रका जनप्रतिनिधिहरूको सम्पत्ति कब्जा गर्न उर्दी जारी गरेका छन् ।
काठमाडौंमा आन्दोलनरत उखु किसानको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै अध्यक्ष राउतले मधेश क्षेत्रका सांसद, मन्त्रीहरूको घर हेराउ गरेर सम्पत्ति कब्जा गर्न उर्दी जारी गरेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा हिन्दी भाषामा शुक्रबार लामो स्टाटस लेख्दै भनेका छन्, ‘मधेशमा जति पनि जनप्रतिनिधिहरू छन्, सांसद छन्, मन्त्री छन् । कांग्रेस, नेकपा, समाजवादी, राजपा चाहे जुनसुकै पार्टीका होउन्, उनीहरूको घर घेराउ गरेर घर र सम्पत्ति कब्जा गरौं । जुन उनीहरूले जनताको लास बेचेर खरिद गरेका हुन् । समाधान त्यहीँ छ ।’
अध्यक्ष राउतले चिनी मिलका सञ्चालक कांग्रेसका सांसद रहेका र सरकारको नेतृत्व गरिरहेको नेकपा चिनी मिल मालिक, माफिया र पुँजीपतिसँग बेचिएको आरोपसमेत लगाएका छन् । समाजवादी पार्टी १८ महिनासम्म सरकारमा रहेपनि उसले एकपटक पनि किसानका बारेमा केही नबोलेको उनको भनाइ छ ।
उनले लेखेका छन्, ‘समाजवादी पार्टी स्वयम् अहिलेसम्म केन्द्र सरकारमा थियो । तर, पछिल्लो १८ महिनामा उसले एक पटक पनि किसानलाई सम्झिएन, विशेष गरी जनताविरुद्ध जति पनि नीतिहरू ल्याइए, चाहे त्यो लोकसेवा आयोगको विज्ञापनसँग सम्बन्धित होस् वा किसानको भुक्तानी सम्बन्धमा हास् समाजवादी र राजपाले त्यसमा हस्ताक्षर गर्दै गए र बाहिर देखावटी विरोध गरेर जनतालाई उल्लु बनाए ।’
उनले समाजवादी र राजपाका नेताहरू फेरि मन्त्री बन्न काठमाडौंको चिसोमा उखु किसानलाई मर्नका लागि उक्साइरहेको गम्भीर आरोपसमेत लगाएका छन् । उनले मधेशी नेताले किसानहरुलाई नांगो भएर प्रदर्शन गर्न र चिसोमा मर्न आदेश दिइरहेको आरोप लगाएका हुन् ।
डा. राउतले उनीहरू फेरि मन्त्री बन्ने लोभमा कहिले किसान मर्लान् र लास लगेर प्रदर्शन सुरु गरौंला भनेर कुरेर बसेका लेखेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…