किसानको आँसुको भरपाई कसरी गर्ने सरकार ?
नेपाल सचेत हुनु जरुरी देखिन्छ । होइन भने नेपाली किसानको हलात भारतीय किसानको जस्तै हुँदैन भन्न सकिँदैन ।
२०७६ पुस १८ शुक्रबार, दिउँसो १२:५३ बजे३ मिनेट पढाइ

त्याग र तपस्याको अर्को नाम हो किसान । किसान जीवन भर माटोबाट सुन उत्पादन गर्ने तपस्या गरिरहेका हुन्छन् । गर्मीको कडा घाम, जाडोको कठ्यांग्रिदो चिसो तथा मन्सुनको मुसलेधार वर्षाले पनि उनको यो साधनालाई तोड्न सक्दैन । हाम्रो देशको लगभग ८० प्रतिशत जनसंख्या आजपनि गाउँमै बसोवास गर्छन् । जसको मुख्य व्यवसाय कृषि नै हो ।
हिन्दीमा एउटा भनाई छ, ‘देशकी आत्मा किसान है, जो गांवों में निवास करते हैं ।’ किसानले खाद्यान्न दिनु बाहेक हाम्रो संस्कृति र सभ्यतालाई पनि संरक्षण गरेर राखेका छन् । यही कारण हो, शहरको अपेक्षामा हाम्रो गाउँघरमा आफ्नो मौलिक संस्कृति र सभ्यता अलिकति बढीनै देख्न पाइन्छ । किसानको लागि कृषि नै शक्ति र येही नै उनको भक्ति हो ।
वर्तमान सन्दर्भमा हाम्रो देशमा किसान आधुनिक विष्णु हो । उनी देशभरलाई अन्न, फल, साग, सब्जी, चिनी आदि दिँदै आइरहेका छन् । तर, बदलामा उनलाई उनको पारिश्रमिक समेत मिलिरहेको छैन । यतिसम्म छ कि, वर्र्षभरि चुहाएको पसिनाको कुनै मूल्य नपाएपछि किसानहरु बिचलित भइै आफुले चिनी उद्योगलाई बेचेको रकमको भुक्तानीको माग गर्दै यस्तो कठ्यांग्रिदो चिसोमा काठमाडौं आइपुगेका छन् ।
सरकार र उद्योगीको गरी करिब साढे २ अर्ब बक्यौता भुक्तानी गर्न बाँकी रहेको छ । सरकारले आव २०७४ र ०७५ बाट उखु किसानलाई प्रति क्विन्टल ६५ रुपैयाँ २८ पैसाका दरले अनुदान उपलब्ध गराउने निर्णय गरेको थियो । सोही अनुसार दुई आव २०७४ र ०७५ र ०७५ र ७६ को गरेर १ अर्ब ३४ करोड भुक्तानी लिन बाँकी रहेको छ भने उद्योगीले १ अर्ब २ करोड रूपैयाँ भुक्तानी दिन बाँकी रहेको छ । रौतहटको श्रीराम सुगर मिल्स ४२ करोड, सर्लाहीको अन्नपूर्ण चिनी उद्योग ५० करोड र महालक्ष्मी सुगर मिल्सको १० करोड किसानलाई बक्यौता रहेको छ ।
यति धेरै रकम वर्षौंदेखि लिन बाँकी रहेका किसानलाई के बितिरहेको होला भन्ने कुराको अन्दाज हामी लगाउन नि सक्दैनौं । एकातर्फ ऋणको लगातार बढ्दो बोझ, त अर्कोतर्फ बेजोड मेहनत गरेर उत्पादन गरेको बालीको न्यूनतम पारिश्रमिक समेत नपाउनुको पीडा कति असहनीय भइसकेको छ, यसको व्यापक असर काठमाडौंमा आन्दोलनरत किसानको आँखाबाट चुहेको आँसुमा स्पष्ट रूपले देख्न सकिन्छ । सरकारले चाहेमा किसानको पसिनाको मूल्य आज नत्र भोलि भुक्तानी गर्देला । तर, माइतिघरमा किसानले चुहाएको आँसुको मूल्यको भरपाई कसरी गर्ला ? के ती आँसुको पाप यो सरकारलाई लागेन त ?
यी प्रश्नहरुले भारतका किशानहरुले गरेको आत्महत्याको पाप त्यहाँका सरकार र सिंगो देशले भोगी रहेको कुराको स्मरण गरायो । आज विश्व राजनीति बहसमा जब किसान उपरको दमनको कुरा आउँछ, तब सबैभन्दा पहिला भारतमाथि प्रश्न उठ्छ । भारतको लागि ती पाप एउटा कालो धब्बा जस्तै भइसकेको छ । उचित पारिश्रमिक र ऋणको बोझको कारण सन् २०१५ मा १२००० भन्दा बढी किसानले भारतमा आत्महत्या गरेका थिए । यस घटनाबाट नेपालले सिख लिनुपर्छ । नेपाल सचेत हुनु जरुरी देखिन्छ । किसानको समस्याप्रति गम्भीर हुन जरुरी देखिन्छ । होइन भने नेपाली किसानको हलात भारतीय किसानको जस्तै हुँदैन भन्न सकिँदैन ।
लेखक :
आभाष गुरु (कानुन विद्यार्थी)
गोलबजार–९, सिरहा (हाल काठमाडौं)
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
आभाष गुरु, काठमाडौं
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…