ओली सरकारले प्रजातन्त्र उपर आक्रमण गरयो : देउवा
समाजवादी र राजपा समेत कम्युनिष्टसँग साँठगाँठ गरी जनतालाई उल्लु बनाएको आरोप

२०७६ पुस १२ शनिबार, बेलुकी ६:४४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेसका सभापति एवम् पूवै पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार प्रजातन्त्र उपर आक्रमण गरेको आरोप लगाउनुभएको छ ।
आफ्नै पार्टीभित्र एकता नभएको कारण अन्य पार्टीले त्यसको फाईदा उठाउँदै वर्तमान सरकारले प्रजातन्त्र उपर हमला बोलेको बताउनुभएको छ । पार्टीभित्रका गुटबन्दी अन्त्य गरि एकजुट हुनुको विकल्प नरहेको बताउनुहुँदै उहाँले केपी ओलीको एकलौटी शासनका कारण प्रजातन्त्र धरापमा परेको बताउनुभयो ।
आज (शनिवार) धनुषाको सबैलामा नेपाली काङ्ग्रेस धनुषाले आयोजना गरेको नेता बलराम नायकको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै सभापति देउवाले आफ्नै पार्टीभित्रको एकता मजबुत र विचार सहमत भए नेपाली काँग्रेसलाई कसैले डगमगाउन नसक्ने बताउनुभयो ।
“ओलीको एकलौटी शासनशैलीको कारण लोकतन्त्रमाथि संकट देखिएको छ । अब पनि पार्टी एकजुट हुनुको विकल्प छैन । वर्तमान सरकारका नेतृत्वकर्ता संघीयतामाथि नै हमला गर्न आतुर छ । कानुनहरु संशोधन गरेर संघीयता मास्न खोजेको छ । यो कुरा कसैबाट लुकेको छैन, तर जनता अब जागरुक हुँदैछ ।”– उहाँले भन्नुभयो ।

लोकतन्त्र र संघीयता जोगाउन कांग्रेस एकजुट भएर अगाडि बढ्नुको विकल्प नरहेको औल्याउँदै उहाँले वर्तमान कम्युनिस्टका सरकारले हरेक आयोग गठन गर्न एकलौटी गरेको आरोप लगाउनुभयो । उहाँले यस्ता सरकार विरुद्ध नेपाली काँग्रेस सहित आम जनतालाई समेत एकजुट भई एकलौटीपनको विरोध गर्नुपर्ने बताउनुभयो ।
सोही श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कम्युनिस्ट नेतृत्वको सरकार सर्वसत्तावाद र अधिनायकवादतर्फ उन्मुख रहेको आरोप लगाउनुभयो। मधेस र मधेशी जनतालाई सधैं उपेक्षा गरेको भन्दै ओली सरकारविरुद्ध एकजुट भएर आन्दोलन गर्नुपर्ने बाहेकको कुनै बिकल्प नरहेको थप्नुभयो ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता आनन्द प्रसाद ढुँगानाले धनुषाको सबैला नेपाली काँग्रेसको गढ रहेको बताउँदै यसमा पनि कम्युनिष्टको ग्रहण लागेको बताउनुभयो । उहाँले स्वर्गीय नायकको श्रद्धाञ्जली सभामा उपस्थित जनमासलाई सम्बोधन गर्दै वर्तमान सरकार, कम्युनिष्ट सरकार जनताको भावनासँग खेलवाड गरेको आरोप लगाउनुभयो । उहाँले वर्तमान सरकार देशको विकास गर्न नसक्ने बताउँदै नेपाली काँग्रेसकै पालमा नेपालको विकास सम्भव हुने बताउनुभयो ।
नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री महेन्द्र यादवले समाजवादी पार्टी, राजपा लगायतका मधेशवादी दल केपी ओली सरकारसँग मिलेर मधेशी जनतालाई मुर्ख बनाएको बताउनुभयो । उहाँले समाजवादी र राजपा समेत कम्युनिष्टसँग साँठगाँठ गरी जनतालाई उल्लु बनाएको आरोप लगाउनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…