धनुषा : दुईपक्षबीच जग्गाको विषयमा झडप हुँदा ६ जना अस्पताल भर्ना !
असन्तुष्ट दुवै पक्षले सरकारी कार्यालय जानुको सट्टा गाउँमै विवाद चर्काएपछि झडप भएको बताइएको छ ।

२०७६ पुस १२ शनिबार, बेलुकी ५:०४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जग्गाको विषयमा विवाद हुँदा लिएको उग्र रुपपछि झगडा हुँदा ६ जना घाईते भएका छन् ।
धनुषाको कमला नगरपालिका वडा नं. ८ टेढामोड (टेढा डुमरिया) मा जग्गा नापीको विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा ६ जना घाईते भएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गाउँ गाउँमा खटेको नापी टोली जग्गा नापी गर्न गएको बेला केही जग्गाको लागि विवाद भएको भनेर बुझिएको बताइएको छ ।
गाउँ ब्लोकको जग्गा नापी भईरहँदा दुवै पक्षले आफ्नो जग्गा दाबी गरेपछि विवाद चर्किएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । सार्वजनिक जग्गा, सडकको जग्गा समेत आ आफ्नो नाममा गराउनको लागि उनीहरुले एक आपसमा भिडेको बुझिएको छ । असन्तुष्ट दुवै पक्षले सरकारी कार्यालय जानुको सट्टा गाउँमै विवाद चर्काएपछि झडप भएको बताइएको छ ।
यता, नाम नखोल्ने शर्तमा एक स्थानीयले गाउँमा सडक विस्तारलाई लिएर झडप भएको बताएका छन् । दुवै तर्फबाट लिने जमिन एक तर्फबाट कम तथा अर्का तर्फबाट बढी जग्गा लिएको भनेर आफैंमा विवाद भएको बताइएको छ । सडक विस्तारको कार्य सरकारी निकायले गर्ने भएपनि दुवै पक्षले सडक विस्तारकै लागि जग्गा लेनेदेनको विषयमा झडप भएको बताइएको छ ।
सो झडपमा परी कमला नगरपालिका वडा नं. ८ बस्ने स्थानीय बर्ष ४७ का जगत नारायण रान, ४२ बर्षिय शिव कुमार यादव, बर्ष ५२ का किशोरी दास, बर्ष २५ का नरेश दास, बर्ष ६३ का राम अवतार यादव, बर्ष ३० का अमरपति यादव र बर्ष ४० का धनिकलाल यादव रहेका छन् । धनिकलालको खुट्टामा चोट लागेको छ भने नरेश दासको दुवै हातमा चोट लागेको छ । बाँकी सबै जनाको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
घाईतेहरुको उपचार जनकपुरको प्रादेशिक अस्पतालमा भईरहेको तथा उनीहरुको अवस्था समान्य रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । यस विषयमा अनुसन्धान थालिएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…