प्रहरीलाई नै महिलाले घुस दिन खोजेपछि...
साथै बरामद गरिएको कपडाहरु आवश्यक कारबाहीको लागी बिरगंज भन्सार कार्यालयमा पठाइएको

२०७६ पुस ११ शुक्रबार, बेलुकी ७:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । प्रदेश नं. २ को बारा जिल्लाबाट प्रहरीलाई घुस अफर गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
आज (शुक्रबार) करिब १०ः१५ बजेको समयमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ बाट एक महिलालाई पक्राउ गरिएको हो । बीरगँजबाट पथलैया हुँदै हेटौडातर्फ जाने एक यात्रुवाहक बसमा भन्सार छली ल्याउँदै गरेको कपडा छाडिदिन तथा काम सहज पारिदिन प्रहरीलाई नै घुस दिन खोजेपछि पक्राउ गरिएको हो ।
ईलाका प्रहरी कार्यालय जितपुर अगाडी सडक खण्डमा बिरगंजबाट पथलैया हुदै हेटौडा तर्फ जाने यात्रु बाहक बस गाडीहरुलाई ईलाका प्रहरी कार्यालय सिमरा र ईलाका प्रहरी कार्यालय जितपुर समेतको संयूक्त प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा पर्साको वीरगँज महानगरपालिका वडा नं. २ बस्ने अन्दाजी बर्ष ३५ की अम्बिया खातुनलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय सिमराका डिएसपी गोविन्द पुरीले जानकारी दिनुभयो ।
डिएसपी पुरीका अनुसार, पक्राउ परेकी खातुनले बस गाडीमा भन्सार छली लुकाई छिपाई राखि ल्याएको अवस्थामा कुर्ता सुरुवाल २३ पिस, थानको कपडा ७ पिस, साडी २५ पिस र सल २ पिस बरामद गर्दा कामलाई सहज गरि दिन र कपडालाई छोडी दिन भनि प्रहरीलाई लोभ प्रलोभनमा पार्ने हिसावले रु २८ हजार रुपैयाँ घुस दिन खोजेपछि पक्राउ गरिएको हो ।
खातुनलाई घुसको लागि निकालिएको २८ हजार रुपैयाँ सहित थप अनुसन्धानको लागी अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडा पठाईएको जानकारी डिएसपी पुरीले दिनुभयो । साथै बरामद गरिएको कपडाहरु आवश्यक कारबाहीको लागी बिरगंज भन्सार कार्यालयमा पठाइएको जानकारी दिनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…