राजपाकै हातमा एकीकरणको चावी : उपेन्द्र यादव
समाजवादीका अध्यक्ष उपेन्द्र यादवले राजपासँगको एकीकरणलाई प्राथमिकतामा राखेको बताएका छन् ।

२०७६ पुस ९ बुधबार, दिउँसो १२:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपालमा वैकल्पिक शक्ति बनाउनका लागि लामो समयदेखि राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच एकीकरणको चर्चा चलिरहेको छ ।
राजपा र सपाको मुद्दा पनि लगभग एउटै छन् । एकताका लागि दुवै पार्टीको तर्फबाट वार्ता समिति पनि बनेको छ र सो समितिले अनौपचारिकमा पटक–पटक वार्ता पनि गर्दै आएको छ । एकताका लागि सबै कुरा मिलिसकेको तर, समाजवादी सरकारबाट बाहिर नआएसम्म एकता नहुने तर्क राजपाका अध्यक्षमण्डलका संयोजकसमेत रहेका वार्ता टोलीका संयोजक राजेन्द्र महतोको थियो ।
मंगलबार समाजवादी पार्टी आधिकारिकरुपमै सरकारबाट बाहिर आएको छ । समाजवादीबाट अध्यक्ष उपेन्द्र यादव र मो. इस्तियाक राई मन्त्री थिए । दुवै जनाले राजीनामा बुझाइसकेका छन् । संविधान संशोधनका लागि ड्राफ्ट पेस गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेपछि समाजवादी पार्टी सरकारबाट बाहिरिएको हो ।
सरकारबाट बाहिरिएपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानीको क्रममा समाजवादीका अध्यक्ष उपेन्द्र यादवले राजपासँगको एकीकरणलाई प्राथमिकतामा राखेको बताएका छन् । त्यसका लागि कुराकानी भइरहेको पनि जनाए । अध्यक्ष यादव भने, ‘राजपाको सबभन्दा ठूलो माग नै थियो कि समाजवादी पार्टी सरकारबाट बाहिरिनुपर्छ । अब हामी बाहिरियौं । यसपछि राजपाले के गर्छ, त्यो अब जनताले हेर्छन् ।’
अब राजपा र समाजवादीको एकता निश्चित भएको हो भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा अध्यक्ष यादवले भने, ‘अब बल राजपाको कोर्टमा छ, एकीकरण चाहने हो भने हुन्छ । राजपाले यदि नचाहने हो र हामी छोडेको उही ठाउँमा जाने हो भने हामीलाई भन्नु केही छैन ।’
उनले भने, ‘तर त्यसो गर्नुहोला भन्ने त मलाई लाग्दैछ । त्यसकारणले अब राजपाले कता लाने हो, बल राजपाकै कोर्टमा छ ।’
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…