मधेशमा शीतलहर : राज्यमन्त्री मण्डलको क्षेत्रमा ठाउँठाउँमा न्यानो आगो
जनजीवन प्रभावित भइरहेको समयमा दाउराको प्रबन्ध मिलाएपछि सर्वसाधारणलाई न्यानो बनाउने राज्यमन्त्री मण्डलले विश्वास लिए ।

२०७६ पुस ५ शनिबार, बेलुकी ७:५३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । तराई मधेशको जनजीवन अचानक आएको मौसमी परिवर्तनले कष्टकर बनेको छ ।
चिसो बढेसँगै मध्यतराईको जनजीवन प्रभावित भएको छ । चिसो बढ्दै गएपछि सर्वसाधारणहरुलाई चिसोबाट जोगाउन प्रदेश २ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले आफ्नो निर्वाचन क्षेत्रमा ठाउँठाउँमा न्यानो आगोको व्यवस्था मिलाएका छन् ।
सिरहा निर्वाचन क्षेत्र नं. ४ ‘ख’ बाट निर्वाचित राज्यमन्त्री मण्डलले वन डिभिजन कार्यालय सिरहाको सहकार्यमा विभिन्न ठाँउमा दाउरा वितरण गरेर आगो ताप्ने व्यवस्था मिलाएका हुन् । निर्वाचन क्षेत्र अन्तर्गतको कल्याणपुर, इटारी प्रसाही, चतरी दोनबारी, अर्नमा बनिनियाँ, बेलहा, करुन्याही, परचिलवा, रमना बङठिया लगायतका ठाउँमा २ ट्याक्टर दाउरा पठाइएको राज्यमन्त्री मण्डलले न्यूज ब्यूरोलाई जानकारी दिए ।
अत्यधिक चिसोका कारण मुख्य रूपले बालबालिका, वृद्धवृद्धा, विपन्न परिवारमा धेरै समस्या परेको खबर पाएपछि स्वयं पुगेर तत्काल न्यानो आगोको व्यवस्था मिलाएको उनले बताए । राज्यमन्त्री मण्डलसँगै वन डिभिजन कार्यालय सिरहाका प्रमुख सभाषचन्द्र दास, ईलाका प्रहरी कार्यालयका डिएसपी सन्तु जैसवार, शहीद नगर नगरपालिकाका प्रमुख उदय बरबरिया, कमला अभियानी बिक्रम यादव, राजपा कल्याणपुर नगरका अध्यक्ष रामबाबु यादवलगायत पार्टीका स्थानीय नेताहरुसहितको टोली अनुगमन गरेर ठाउँठाउँमा आगोको व्यवस्था मिलाइएको हो ।
विगत केही दिनदेखि बढेको चिसोले जनजीवन प्रभावित भइरहेको समयमा दाउराको प्रबन्ध मिलाएपछि सर्वसाधारणलाई न्यानो बनाउने राज्यमन्त्री मण्डलले विश्वास लिए । उनले भने, ‘हामीले जहाँ बढी आवश्यक्ता छ त्यहाँ आगो ताप्ने व्यवस्था मिलाएका छौं । आयस्रोत राम्रो भएका मानिसले त बाक्लो न्यानो कपडा लगाउँछन्, हिटर ताप्छन् । तर, आयस्रोत न्यून भएकाहरुको स्थान पहिचान गरेर आगो ताप्ने व्यवस्था मिलाएका छौं ।’ न्यानो अभियान निरन्तर जारी राख्नेसमेत उनले जनाए । उनले सर्वसाधारणलाई चिसोबाट जोगाउन जनप्रतिनिधिहरुलाई आग्रहसमेत गरे ।
वर्षामा बाढीको मार खेप्ने गरेका तराई मधेशबासी अहिले शीतलहर तथा बाक्लो हुस्सुका कारण कठ्यांग्रिनु परिरहेको छ । अत्यधिक चिसोका कारण मानिसहरू घरबाट कमै निस्किन थालेका छन् । मधेशमा यतिबेला हुस्सु र कुहिरोको प्रभाव बढ्दै गएको छ भने घाम लागेको छैन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…