चन्दा नदिँदा बम राखियो : धनुषा प्रहरी
प्रहरी नीरिक्षक दाहाल त्यहाँबाट स्थानीयहरुलाई ठाउँ खाली गराउँदै थिए ।

२०७६ मंसिर २८ शनिबार, बेलुकी ७:४० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले महेन्द्रनगरमा भएको आत्मघाती बम विस्फोटको घटनालाई चन्दासँग जोडेका छन् ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ महेन्द्रनगरमा शुक्रबार राती भएको बम विस्फोटमा परी ३ जनाको ज्यान गएपछि अनुसन्धान तीव्र पारेका धनुषा प्रहरीले सो घटनामा नेत्रविक्रम चन्द “विप्लव” माओवादीको सँलग्नता रहेको प्रारम्भिक अनुसन्धानलाई उदृत गर्दै जानकारी दिएको छ ।
गत दसैंमा नै मृतक राजेश्वर साहसँग विप्लव समूहले चन्दा मागेको खुलाउँदै चन्दा नदिएको निहुंमै बम राखेपछि मानवीय क्षति भएको धनुषाका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता रामेश्वर कार्कीले बताए । उनले प्रहरीले बम छोएको कुरामा कुनै सत्यता नरहेको बताउँदै बम विस्फोट भने नजिकै रिमोट कन्ट्रोलबाट गरिएको औल्याएका हुन् । उनले विस्फोट भएको बम कुकर बम रहेको बताए । घटनापछि प्रहरीको डग टोली आएर अनुसन्धान गरेको हो ।
शुक्रबार राती १२ बजेर १० मिनेटमा भएको आत्मघाती विस्फोटमा परी नेपाल प्रहरीका प्रहरी नीरिक्षक (ईन्सपेक्टर) अमिर कुमार दाहालको उपचारको क्रममा र घरबेटी स्थानीय राजेश्वर साह र उनका छोरा आनन्द साहको घटनास्थलमै मृत्यू भएको हो । सो घटनामा नेपाल प्रहरीकै एक अर्का जवान रिजनाथ महतो सहित मृतक राजेश्वरका बुवा भिखारी साह, कान्छो छोरा प्रकाश भन्ने प्रेम साह र उनकी छोरी अँजली (निक्की) साह अस्पतालमा उपचाररत छन् ।
राजेश्वरको शौचालय नजिकै गेटमा रातो झोलामा बम राखिएको थियो भने झोला भित्र शंकास्पद वस्तु देखेपछि तत्कालै प्रहरीलाई बोलाउन राजेश्वर ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा गएका थिए । निकै सक्रिय स्वभावका प्रहरी नीरिक्षक दाहालले तुरुन्तै टोली तयार गरेर घटनास्थल पुगेका थिए । बमको आशंका भएलगत्तै उनले धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीलाई रिपोर्ट पनि गरेको थियो भनेर जनाइएको छ ।
रातो झोलामा राखिएको शंकास्पद वस्तु बम हो वा होईनन भनेर यकिन गर्नको लागि प्रहरीले केही बेर अनुसन्धान गरेका थिए । बम हो वा होईन भनेर कुराकानी चलिरहँदा त्यतिकैमा अचानक विस्फोट भएको प्रहरीको दाबी छ । घाईते अर्थात प्रत्यक्षदर्शीहरुलाई उदृत गर्दै धनुषा प्रहरीले बम अचानक विस्फोट हुँदा नजिकै रहेको व्यक्तिहरु ढलेको थियो । प्रहरी नीरिक्षक दाहाल त्यहाँबाट स्थानीयहरुलाई ठाउँ खाली गराउँदै थिए ।
ठाउँ खाली गराएर आफू शंकास्पद वस्तुको केही नजिकै रहेकोले अपूर्णीय मानवीय क्षति भएको बताइएको छ । प्रारम्भिक अनुसन्धानमा विस्फोटक पदार्थ भित्र फलामे किला, ग्ट्टिी, साईकले बलहरु राखेर मोबाईलबाट नियन्त्रण गरी विस्फोट गराएको हो । यसबारे अनुसन्धान तीव्र पारिएको छ भने आशंकाको आधारमा सोधपुछ गर्न ३ जनालाई नियन्त्रणमा लिएको छ ।
यता, मृतक राजेश्वर साह र उनका छोरा २४ बर्षिय विद्यार्थी आनन्द साहको अन्तिम सँस्कार आजै (शनिबार) बेलुकी जलाद नदी किनारमा गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…