राष्ट्रपतिद्वारा शीतलहरबाट उत्पन्न परिस्थितिको समाधानका लागि आग्रह
काठमाडौँ, २४ पुस : राष्ट्रपति विद्यादेवी भण्डारीले तराई क्षेत्रको शीतलहर र प्रकोपबाट उत्पन्न परिस्थितिको उचित र व्यवस्थित समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । तराई क्षेत्रलगायत देशभर बढेको चिसोले जनताको दैनिक जीवनयापनमा परेको कठिनाइप्रति ध्यानाकर्षण भएको जनाउँदै राष्ट्रपति भण्डारीले विगत

२०७४ पुस २४ सोमबार, बेलुकी ६:५५ बजे१ मिनेट पढाइ

काठमाडौँ, २४ पुस : राष्ट्रपति विद्यादेवी भण्डारीले तराई क्षेत्रको शीतलहर र प्रकोपबाट उत्पन्न परिस्थितिको उचित र व्यवस्थित समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
तराई क्षेत्रलगायत देशभर बढेको चिसोले जनताको दैनिक जीवनयापनमा परेको कठिनाइप्रति ध्यानाकर्षण भएको जनाउँदै राष्ट्रपति भण्डारीले विगत वर्षमा पनि यस किसिमका प्राकृतिक घटनाक्रम हुने गरेकाले अब उचित र दिगो व्यवस्थापनका लागि पूर्वतयारी अपनाउन सरकारलाई आग्रह गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
“शीतलहर एवम् महामारीका कारण विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, असहाय, गरीब र निमुखालाई बढी प्रभावित पारेको कुराले सिंगो देशलाई दुःखित र स्तब्ध तुल्याएको जनाउँदै विज्ञप्तिमा गैरसरकारी संस्था, नागरिक समाज, निजी क्षेत्र र सर्वसाधारणलाई सरकारसँग हातेमालो गरी पीडितको उद्धार एवम् राहतको उचित प्रबन्ध मिलाउन आह्वान गरिएको छ ।
केही दिनदेखि तराई क्षेत्रमा लागेको बाक्लो हुस्सु र शीतलहर एवम् पश्चिम पहाडका केही क्षेत्रमा फैलिएको झाडापखाला र ज्वरोका कारणबाट भएको मानवीय क्षतिप्रति राष्ट्रपतिले दुःख व्यक्त गर्दै शीतलहर एवम् महामारीका कारणबाट अकालमा ज्यान गुमाएकाहरुका शोकसन्तप्त परिवारजनप्रति समवेदना तथा उपचारका क्रममा रहेकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…