विवाहपञ्चमी महोत्सव आजदेखि सुरु, आज 'नगर दर्शन'
राम– लक्षमण बनेर सजिएका बेहुला (दुल्हा) लाई जनकपुर नगरको बारेमा जानकारी दिइने छ ।

२०७६ मंसिर १० मंगलबार, बिहान ८:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रत्येक वर्ष धुमधामका साथ मनाइने मधेशको महा उत्सवको रुपमा मनाइदै आएको विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत रुपमा सुरु भएको छ ।
आज मँगलबार हर्षोल्लास सहित जनकपुर नगर दर्शन गराउँदै विवाहपञ्चमी महोत्सवको शुभारम्भ गरिने जनाइएको छ । यसपाली प्रदेश नं. २ का भौतिक पूर्वाधार तथा यातायात मन्त्री जीतेन्द्र सोनलको प्रमुख आतिथ्यमा जनकपुर नगर दर्शन कार्यक्रमको शुभारम्भ गरी विवाहपञ्चमी महोत्सवको श्रीगणेश हुने छ ।
आज (मँगलबार) बेलुका धार्मिक वर्णन अनुसार मर्यादा पुरुषोत्तम राम र उनका भाई लक्ष्मण लाई विशेष आसनमा राखेर साँकेतिक रुपमा जनकपुर घुमाइने कार्यक्रम रहेको छ । त्रेतायुगमा भगवान राम र उनका भाई लक्ष्मण जनकपुर धनुष यज्ञमा आउँदा जनकपुरवासीले जनकपुरको बारेमा परिचय सहित जनकपुर दर्शन गराएको किम्दन्ती अनुसार सांकेतिक रूपमा राम– लक्षमण बनेर सजिएका बेहुला (दुल्हा) लाई जनकपुर नगरको बारेमा जानकारी दिइने छ ।
अपरान्ह ४ बजेदेखि जानकी मन्दिरको प्राङ्गणमा जनकपुर मिथिला मधेशको विशेषता झल्किने स्टलहरु राखेर प्रदर्शन गर्दै त्यसै अवसरमा राम– लक्ष्मणको रूपमा सजिएका बेहुलालाई सांकेतिक रूपमा जनकपुर नगरको बारेमा जानकारी गराइने कार्यक्रम रहेको छ ।
जनकपुर नगरदर्शनको क्रममा मधेश र मिथिलाको प्रसिद्ध मानिने पान, मखानको पसल, मिथिला आर्ट, लहठी चुराको स्टल, मिथिला पसलको साथै भाडा बर्तनलगायतको स्टल राख्दै जनकपुरको पहिचान झल्किने वस्तुहरुको वारेमा अयोध्यावासीलाई जानकारी दिइनेछ जानकी मन्दिरका उत्तराधिकारी महन्त राम रोशन दास वैष्णवले जानकारी दिए ।
जनकपुर नगरदर्शनको क्रममा मधेश मिथिलामा आगन्तुक पाहुनालाई गरिने आदार भावनाका साथ संगीतमय तरिकाले यहाँको पहिचान र संस्कृतिबारे अवगत गराउँदै जनकपुर नगरदर्शन कार्यक्रमसँगै राम–जानकी विवाह पञ्चमी महोत्सवको औपचारिक रुपमा शुभारम्भ गरिने छ ।
जनकपुर नगरदर्शन कार्यक्रममा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवलगायत विशिष्ट अतिथी तथा साधुसन्तहरुको सहभागिता रहने गरेको छ । यता, भोली विवाहपञ्चमी महोत्सवको सबभन्दा आकर्षक चरण फुलबारी लीला हुने भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…