जनकपुरको विकास अब कसैले रोक्न सक्दैन : मेयर साह
यो प्रोजेक्ट अन्तर्गत २३ करोड, ८७ लाख ७ हजार ९ सय ५६ रुपैयाको रहेको छ ।

२०७६ मंसिर ९ सोमबार, बेलुकी ६:३२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले जनकपुरधामको विकास अब कसैले रोक्न नसक्ने बताएका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. २५ लोहना टोलमा ‘ढल निकास योजना’ को सोमवार शिलान्यास गर्दै मेयर साहले जनकपुरधामको विकास अब कसैले रोकेपनि रोक्न नसकिने भन्दै यसका लागि सबैको साथ र सहयोगको आवश्यक रहेको बताएका छन् । उनले भने, “प्रतिस्पर्धाको राजनीतिक हुनु आवश्यक छ, तर विकासको नाउँमा राजनीति नगर्न सबैलाई आग्रह समेत गर्दछु।”
मेयर साहले पाँच वर्ष भित्रमा जनकपुरधाम एउटा नमूना सहरको रुपमा स्थापित हुने जिकिर पनि गरेका छन् । संघीय खानेपानी तथा व्यवस्थापन आयोजनाका सचिव गजेन्द्र ठाकुर, प्रदेश साँसद परमेश्वर साह, उपमेयर रिता कुमारी मिश्र सहितले संयुक्त रुपमा धार्मिक परम्परा अनुसार शिलान्यास गरिएको हो ।
सोही वडाका वडा अध्यक्ष उमेश यादवको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रमका प्रमुख अतिथि समेत ठाकुरले वृहद जनकपुर ढल निकासको यो एउटा अंग रहेको बताएका छन् । उनले भने, ‘यो करीब २ सय करोडको प्रोजेक्ट हो । तर दुईवटा प्रोजेक्ट रहेको छ । यो प्रोजेक्ट अन्तर्गत २३ करोड, ८७ लाख ७ हजार ९ सय ५६ रुपैयाको रहेको छ ।’
पहिलो चरणको ठेक्कामा ३० वटा शौचालय, र ३१ वटा सरोवरहरुको सन्दर्यीकरण गर्ने योजना रहेको मन्त्रालयका सचिव ठाकुरले बताएका छन् । उनले यसको लागि वातावरणीय अध्ययन भई रहेको बताए ।
त्यस्तै प्रदेश साँसद परमेश्वर साहले जनकपुरधाम धार्मिक पर्यटकीय नगरीका साथै प्रदेश २ को राजधानी समेत रहेकोले सोही अनुसार विकासको आवश्यकता रहेकोमा जोड दिएका छन् । उनले साकारात्मक सोचका साथ अगाडि बढेमा विश्वकै प्रसिद्ध नगरीको रुपमा जनकपुरधाम स्थापित हुने जिकिर गरेका छन् । कार्यक्रममा उपमेयर रिता कुमारी मिश्र, नेपाली काँग्रेसका धनुषा उपसभापति सन्तोष यादव सहितका व्यक्तिहरुले विचार राखेका थिए ।
योजनाको ठेक्का विकास एण्ड ब्रोदर्श÷कनकाई जे।वि।ले लिएको छ । दुई वर्षभित्रमा निर्माण कार्य गरिसक्नुपर्ने सम्झौता पत्रमा उल्लेख रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…