काठमाडौंमा डा. सिके राउतको गर्जन : 'देश बेचुवा कुनै मधेशी होइनन्, खोक्रा राष्ट्रवादी हुन्'
डा. राउतले काठमाडौंमा मधेशीसँग मानवीय व्यवहार नगरे अवस्था भयावह हुने चेतावनी समेत दिए ।

२०७६ मंसिर ७ शनिबार, बेलुकी ५:३० बजे३ मिनेट पढाइ
न्यूज ब्यूरो, काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ ।
जनमत पार्टीले आज (शनिबार) ‘रंगभेदविरुद्ध एकतासभा’ मा शक्ति प्रदर्शन गरेको हो । काठमाडौंमा रंगको आधारमा गरिने व्यवहार विरुद्ध काठमाडौंस्थित टुडिखेल मैदानमा आयोजना गरिएको रंगभेद विरुद्धको कार्यक्रमलाई सम्बोधन गर्दै डा. राउतले देश बेच्ने कुनै मधेशी नभएर खोक्रो राष्ट्रवादीहरु भएको बताएका छन् ।
डा. राउतले विभिन्न समयमा नेपालका सम्पति विदेशीलाई बेचेर मधेशीहरु उपर अत्याचार गरेको बताएका हुन् । मधेशी मूलका नेपालीहरुलाई काठमाडौंको गल्ली गल्लीमा रंगको आधारमा विभेद गरेको बताउँदै उनले अब पनि व्यवहार परिवर्तन नगरिए हावा कहाँ छ भनेर पनि सोध्नुपर्ने अवस्था ल्याउने चेतावनी दिएका छन् ।
डा. सिके राउतको सम्बोधन हेर्नुहोस भिडियोमा ।
रंग कालो देख्ने वित्तिकै पसल, सैलुन, सार्वजनिक यातायात, बजार, मौल, तरकारी बजारमा हुने विभेदलाई अन्त्य गर्नको लागि मधेशी समुदायले आफैं उठ्नुपर्ने उनले बताए । काठमाडौंमा पस्ने वित्तिकै यहाँ मधेशी समुदायको रंग कालो देखेपछि गर्ने व्यवहार अमानवीय रहेको भन्दै उनले आक्रोश पोखे ।
सोही क्रममा उनले मधेशीहरुलाई रंगको आधारमा गरिने व्यवहारप्रति आक्रोशित हुँदै सन् १९४७ मा खोक्रो राष्ट्रवादीहरुले नेपाली युवाहरुलाई भारतको गोर्खा सैनिकमा बेच्न शुरु गरेकोप्रति खेद प्रकट गरे । उनले भने, ‘नेपालका युवाहरुलाई बेच्न राष्ट्रघात गर्ने कोही मधेशी थिएनन्, २००७ सालमा असमान सम्झौता गर्ने कोही मधेशी थिएनन्, २००८ सालमा नेपालको मन्त्रिपरिषद् भित्र विदेशी राजदुतलाई पसाउने कुनै मधेशी थिएनन्, विदेशी सेनालाई ललितपुरमा सैनिक क्याम्प खोल्न दिने कुनै मधेशी थिएनन्, २०१० सालमा नेपालको दार्चुलामा विदेशी सेना बसाएर नेपाली किसानहरु माथी दमन गराउने कोही मधेशी थिएनन्, सीमा क्षेत्रमा विदेशी सेनालाई बोलाएर उनीहरुलाई क्याम्प खोल्न दिने कुनै मधेशी थिएनन्, २०११ सालमा कोशी सम्झौता गरेर कोशी बेच्ने पनि कुनै मधेशी थिएनन्, त्यो सबै खोक्रो राष्ट्रवादीहरु थिए ।’


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…