कम्युनिष्टको किल्लामा राजपाको लहर, नेकपा र कांग्रेसले ठग्ने दिन गए : नेता यादव
मुलुकका जनताले पुराना र ठग पार्टीबाट आजित भएर अब विकल्प खोजेको र जनतालाई विकल्प दिन राजपाको जन्म भएको नेता यादवले दावी गरे ।

२०७६ कार्तिक ३० शनिबार, बेलुकी ७:१३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्षमण्डलका सदस्य तथा संघीय सांसद राजकिशोर यादवले जनतालाई ठग्दै आएको पार्टीलाई अब जनताले नै तह लगाउने बताएका छन् ।
सिरहाको कर्जन्हा नगरपालिका–१ बल्टियामा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादवले यस्तो बताएका हुन् । विभिन्न आश्वासन दिएर नेकपा र कांग्रेसले जनतालाई ठग्ने काम मात्र गरेको र जनताले ती पार्टीलाई चिनिसकेको भन्दै उनले यी पार्टीहरु अब बढी समयसम्म नटिक्ने बताए ।
मुलुकका जनताले पुराना र ठग पार्टीबाट आजित भएर अब विकल्प खोजेको र जनतालाई विकल्प दिन राजपाको जन्म भएको नेता यादवले दावी गरे । उनले नेकपा र कांग्रेस लगायतका पार्टीले मुलुकलाई जर्जर अवस्थामा पुर्याएको र अब यी पार्टीहरुबाट केही हुननसक्ने प्रष्ट भइसकेको जिकिर गरे ।
सदियौंदेखि जनताको भोट लिएका पार्टीहरुको स्वार्थ र असक्षमताका कारण जनताको जीवन बर्बाद भएको र मुलुक चरम संकटमा पुगेको उनले बताए । मुलुकको अवस्थाप्रति चिन्ता भाव जनाउँदै सांसद यादवले अब जनता जागरुक हुनुपर्ने दिन आएको बताए । सबै समुदायलाई समेटेर राष्ट्रिय राजनीति र मुलुकलाई नयाँ दिशामा लैजान राष्ट्रिय जनता पार्टीको निर्माण भएको नेता यादवले बताए ।
विभिन्न पार्टी परित्याग गरी राजपाप्रतिको बढ्दो आकर्षणले अब जनता जागरुक हुन लागेको बताउँदै राष्ट्रिय राजनीतिमा उथलपुथलको संकेत गरेको उनले बताए । देशमा रहेको एकल जातीय संस्कारलाई परास्त गर्दै राजपाले सबैको साझा नेपाल बनाउने अभियानमा लागेको उनले प्रष्टाए ।
शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रमबाट अधिकांश नेकपा तथा कांग्रेससहित विभिन्न पार्टी परित्याग गरी सयौं नेता कार्यकर्ता राजपामा प्रवेश गरेका छन् । नव प्रवेशीलाई नेता यादवले पार्टी प्रवेश गराउँदै धन्यवादसहित शुभकामनासमेत दिए ।
मुलुकलाई समृद्धिको दिशामा लैजान हरेक दृष्टिकोणबाट विकासको खाँचो रहेको भन्दै उनले आफ्ना गाउँठाउँमा आवश्यक विकास निर्माणका कामको लागि नव प्रवेशीहरुलाई सक्रिय भएर लाग्न आग्रह गरे । सिरहा ४ बाट निर्वाचित सांसद यादवले आफू र राजपाले विकास कार्यको लागि बजेटको कमि हुन नदिने प्रतिवद्धतासमेत जनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…