आस्था र निष्ठाको महापर्व 'छठ' सम्पन्न
अस्ताउने र उदाउने दुइटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समानरूपमा र जीवनकै पाटोको रूपमा लिइनु हो ।

२०७६ कार्तिक १७ आइतबार, बिहान ११:१४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आस्था र निष्ठाको महापर्व छठ आज विधिवत् रुपमा समापन भएको छ ।
चारदिनसम्म निकै धुमधामको साथ मनाउने छठ पर्व व्रतालुहरूले आज (आईतबार) उदाउँसो सूर्यलाई अर्घ दिएपछि सम्पन्न भएको हो । मूलविधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ ।
व्रतालुहरूले पोखरी, नदी, तलाउ लगायतका जलाशयमा दुबै हत्केलामा पिठार र सिन्दुर लगाई अक्षता, फूल लिई आफ्नो खेतबारीमा उपादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवान सूर्यलाई अर्घ अर्पण गरेका थिए । अर्घमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन छ ।
सूर्यलाई दिइने अर्घमा ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानिन्छ । छठपर्वको मूल सन्देश भनेकै समन्वय, समावेशी र सादगीपन हो । छठपर्व महिलाहरूको अगुवाइमा समाज र परिवारको हितका लागि संकल्प गरिन्छ, जो यसको महत्वपूर्ण पक्ष हो । अस्ताउने र उदाउने दुइटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समानरूपमा र जीवनकै पाटोको रूपमा लिइनु हो ।
धनी, गरीब, कथित तल्ला र माथिल्ला जातिहरू एकै ठाउँमा उपस्थित भई पूजा गर्नु ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुने सन्देश दिन्छ भने सूर्यको उपयोगिता कृषि संस्कृतिमा अपरिहार्य भएको अभिव्यक्ति पनि यस पर्वले दिन्छ । आफ्नै गाउँघरका खेतबारीमा उब्जने कृषि उत्पादनलाई प्रयोग गर्नु यो पर्वको थप मौलिकता विशेषता हो, जो आडम्वरविहीनताको परिचयसँगै श्रमको सम्मानको परिचायक मानिन्छ ।
सूर्यको आराधनाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धन प्राप्ति हुने जनविश्वास छ । छठपर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरू पनि त्यत्तिकै छन् । वैज्ञानिक र ज्योतिष तथा चिकित्सकहरूले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन् ।
ऋग्वेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राखी पनि व्रतालुहरूले यो पर्वमा सूर्यको आराधना गरी मनोवाञ्छित फल प्राप्त गर्ने गरेको विश्वास पाइन्छ । छठका अवसरमा बेहुलीझैँ सिंगारिएका पोखरी र तलाउमा नवबस्त्रमा सजिएका श्रद्धालुहरूको भीड दर्शनीय थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…