उपेन्द्र यादवसहितका मन्त्रीको कार्यक्रममा जनता नगइदिएपछि...
तर, जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको कार्यक्रममा भने हजारौं हजार जनता ओर्लिए ।

२०७६ कार्तिक १५ शुक्रबार, दिउँसो ४:२७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाममा भएको बिहीबारको नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ कार्यक्रम निकै रोचक बनेको छ ।
संघीय सरकार र प्रदेश सरकारले संयुक्त आयोजना गरेको उक्त कार्यक्रममा उपप्रधानमन्त्री र पर्यटनमन्त्रीलाई नै सर्वसाधारणले नपत्याएपछि कार्यक्रम रोचक बनेको हो । संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालय र प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले संयुक्त रूपमा आयोजना गरेको भिजिट नेपाल २०२० को औपचारिक शुभारम्भ कार्यक्रममा जनता नै नआएपछि कार्यक्रम खल्लो बनेको छ ।
बिहीबार जनकपुरस्थित तिरहुतिया गाछीमा आयोजित समारोहमा संघीय सरकारका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव प्रमुख अतिथि थिए भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई अतिथि थिए । देशकै उच्च पदस्थ व्यक्तिहरू आएको कार्यक्रममा सर्वसाधारण भने आउदै आएनन् ।
संघीय सरकारमात्र होइन त्यहाँ प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश सरकारका अन्य मन्त्रीहरु, संघीय सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुखहरु लगायत उपस्थित रहेपनि अतिथि, स्वयंसेवक तथा सुरक्षाकर्मी मात्र कार्यक्रममा देखिन्थे । मैदानमा बिच्छ्याएका खाली कुर्सी मात्र देखिने कार्यक्रम निकै लज्जास्पद देखिएको थियो ।
कार्यक्रममा धेरैजसो कुर्सी खाली नै थिए । जनता नै नदेखेपछि प्रमुख अतिथि यादवले सम्बोधन गरेर तुरुन्त निस्किए । उनीपछि मन्त्री योगेश भट्टराईले भने खाली कुर्सीकै अगाडी बोलेका थिए । मुख्यमन्त्री राउतको पनि त्यहि अवस्था भयो । संघीय सरकार र प्रदेश सरकारले संयुक्त आयोजना गरेको कार्यक्रम नै लज्जास्पद देखिन्थ्यो ।
तर, जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको कार्यक्रममा भने हजारौं हजार जनता ओर्लिए । बिहीबारै धनुषाको बरमझियामा आयोजित वैदेशिक रोजगारको क्रममा ज्यान गुमाएका विनोद यादवको श्रद्धाञ्जली समारोहमा आयोजकको अपेक्षाभन्दा बढी जनता ओर्लिएको देखियो ।
तत्कालिन स्वतन्त्र मधेश गठबन्धनका संयोजकसमेत रहेका डा. राउत नेपाल सरकारसँग सहमति गरेर मूलधारको राजनीतिमा अवतरण गरेपछि उनी संगठन विस्तारमा झन सक्रिय भएर लागेका छन् । राउत मूलधारको राजनीतिमा आएपनि उनीप्रतिको क्रेज यथावत रहेको कुरा हिजोको कार्यक्रमले प्रष्ट हुन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…