डा. सिके राउत आज जनकपुरमा झण्डा गाड्ने !
डा. राउत मधेश र मधेशीको मुद्दालाई राज्यकै मूलधारमा बसेर सम्बोधन गर्न दबाब सिर्जना गर्ने बताउँदै आएका छन् ।

२०७६ कार्तिक ७ बिहीबार, बिहान ११:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आज जनकपुरमा आफ्नो पार्टीको कार्यालय उद्घाटन गर्ने भएको छ ।
तराई मधेशको सबै जिल्लामा जनमत पार्टीको पार्टी कार्यालय तथा सम्पर्क कार्यालय खोल्ने कार्यलाई तीव्रता दिएका डा. राउतले आज (विहिबार) जनकपुरमा समेत पार्टी कार्यालय खोल्न लागेका हुन् । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ रामानन्दचोकमा डा. राउत नेतृत्वको जनमत पार्टीको जिल्ला कार्यालय उद्घाटन गर्न लागिएको हो ।
डा. राउत आज विहान ११ः३० बजे पार्टी कार्यालयको विधिवत् उद्घाटन गर्नेछन् । स्वतन्त्र मधेश गठबन्धन बनाएर कुनैबेला अलगै मधेश देशको माग गरेका डा. राउत वर्तमान सरकारसँग सहमति गरी मूलधारको राजनीतिमा अवतरण गरेपछि पार्टी विस्तारमा सक्रिय भएर खटेका छन् । विना स्वार्थको राजनीति गर्ने दावी गर्दै आएका उनी मधेश र मधेशीको मुद्दालाई राज्यकै मूलधारमा बसेर सम्बोधन गर्न दबाब सिर्जना गर्ने बताउँदै आएका छन् ।
तराई मधेशको २२ वटा जिल्लाहरुमा जनमत पार्टीको पार्टी कार्यालय स्थापना सहित आउँदो चुनावमा मधेश विरोधी तत्वहरुलाई करारा जवाफ दिने तयारीमा रहेको पार्टी श्रोतको भनाई छ । मूलधारको राजनीतिमा आएलगत्तै पनि उनको गतिविधि भने झन सक्रिय भएको देखिएको छ ।
वैज्ञानिकसमेत रहेका जनमत पार्टीका अध्यक्ष डा. राउत जनकपुर आउने भएपछि उनलाई स्वागतको लागि उनका कार्यकर्ता तथा समर्थकहरु भारी संख्यामा जनकपुर उपस्थित हुने कार्यक्रम रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…