अब जनकपुरमा 'माँस मदिरा' प्रतिबन्ध हुँदै
कार्तिक ३० गते भित्र वार्डभित्र रहेको मदिरा पसलहरु अन्तै सार्न मदिरा पसल धनीहरुलाई चेताएका छन् ।

२०७६ असोज २६ आइतबार, दिउँसो १२:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धार्मिक रुपले अब्बल मानिएको जनकपुरधाममा अब माँस मदिरा बन्द गर्ने अभियानलाई तीव्रता दिइएको छ ।
जनकपुरधाम उपमहानगरपालिका भित्रमा मांस मदिरा बिक्री वितरणमा निषेध गर्न पटक– पटक अभियान शुरु गरेपनि सफल हुन सकेको छैन । गौ संरक्षण मञ्च र राजपा महिला मञ्च लगायतले सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाएपनि सो निकायले चासो लिएन । तर यस पटक वडा अध्यक्ष वार्डस्तरबाट नै वार्डभित्रमा मांस मदिरा निषेध गर्न अभियान नै शुरु गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका ७मा एक महिना भित्रमा वार्डभरिमा मांस मदिरा निषेध गर्न शनिवारदेखि अभियान शुरु गरिएको हो । सोही वडाका वडा अध्यक्ष जानकी राम साहको अध्यक्षतामा तथा उपमेयर रिता कुमारी मिश्रको प्रमुख आतिथ्यमा बसेको बैठकबाट स्थानीयवासीहरुले सो निर्णय गरेका हुन । वडाका भलभलादमी, बुद्धिजीवि, नागरिक समाज सहितले त्यस्तो निर्णय गरेका हुन भनेर समाचारदैनिक ब्लगमा पत्रकार कैलाश दासले समाचार लेखेका छन् ।
जनकपुरधाम ऐतिहासिक एवं धार्मिक नगरी रहेकोले सबै वडामा तत्काल मांसमदिरा निषेध सम्भव नभएपनि वडा नं. ७ बाट नै मांस मदिरा निषेध गर्न शनिवार उपमेयर लगायतका बुद्धिजीविहरुले पसल पसलमा गएर जानकारी गराएका छन् । बैसारबाट वार्डभित्र मांस मदिरा बिक्री वितरणमा निषेध, सरसफाईका लागि टोल सुधार समिति गठन, कालो पत्र लगायत निर्णय गरेको छ । तर कार्तिक ३० गते भित्र वार्डभित्र रहेको मदिरा पसलहरु अन्तै सार्न मदिरा पसल धनीहरुलाई चेताएका छन् ।
वडा अध्यक्ष साहले एक महिना भित्रमा मदिरा पसलहरु खाली नगरेमा युवा र प्रशासन सहितको टोलीले पसलमा तालाबन्दी लगायतको कडा प्रक्रिया अपनाउने बताएका छन् । वडा अध्यक्ष साहले भने, ‘पत्रबाट, मौकिङ्ग र विभिन्न मिडियाबाट मांसमदिरा पसल खाली गर्ने जानकारी गराउने छौं । त्यसका वावजूद पनि मानेन भने प्रशासनिक निकायबाट खाली गराउने छौैं ।’
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…