नेकपा र कांग्रेसले मधेशलाई भाँडो मात्र बनाएको कुरा मधेशीले बुझ्न जरुरी छ : नेता यादव
मुख्य दल र केही नेताहरुले मधेशीलाई अधिकार नदिएर सधैंका लागि दास बनाउन खोजेको नेता यादवले तर्क गरे ।

२०७६ असोज २३ बिहीबार, राति ८:०३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका नेता एवं संघीय सांसद राजकिशोर यादवले विभिन्न राजनीतिक दलले मधेशलाई भाँडोको रुपमा मात्र प्रयोग गरेको बताएका छन् ।
सिरहाको कल्याणपुर नगरपालिका–९, डुमरीमा बिहीबार आयोजित शुभकामना आदानप्रदान एवं कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादवले यस्तो बताएका हुन् । उनले नेपालका विभिन्न पुराना मुख्य राजनीतिक दलबाट मधेशलाई ठग्ने काम मात्र भएको आरोप लगाए ।
उनले भने, ‘मधेशी जनताको मनमा छलकपट छैन, सोझा र मनका धनी छन् मधेशी जनता, अधिकार र विकासको आशामा सदियौंदेखि कांग्रेस, तत्कालिन एमाल माओवादी एवं हालको नेकपालाई भोट दिए, तर आजसम्म कांग्रेस र नेकपाले मधेशलाई के दियो ?’ नेता यादवले नेकपा र कांग्रेसले मधेशलाई भाँडोको रुपमा मात्र प्रयोग गरेको कुरा मधेशी जनताले अबपनि बुझ्न अत्ति जरुरी रहेको धारणा राखे ।
मधेशीकै भोटको सहारामा नेपालको सत्तामा शासन गरेका पार्टीले उत्पीडनमा परेका मधेशी जनतालाई अधिकार दिलाउनुको साटो विभिन्न कानुन मार्फत् अधिकार नै कटौती गरेर झन कमजोर बनाउने काम गरेको नेता यादवले बताए । मुख्य दल र केही नेताहरुले मधेशीलाई अधिकार नदिएर सधैंका लागि दास बनाउन खोजेको उनको भनाइ थियो ।
मधेशी जनता अब ती दलको जालझेलमा पर्नु महाभूल हुने नेता यादवले तर्क गरे । उनले भने, ‘यिनीहरु मधेशीलाई सधैंका लागि मतदाता र करदाताका रुपमा मात्रै प्रयोग गर्दै दास बनाउन खोज्दैछन् । त्यसैले मधेशी जनता अब सचेत भएर अगाडि बढ्न जरुरी छ ।’
आफ्नो पार्टी यसकै लागि संघर्षरत रहेको र राजपाको जन्म नै मधेशी जनतालाई देशको सम्मानित नागरिक बनाउनको लागि भएको उनले जनाए । यसका लागि सबै मधेशी जनताको साथको आवश्यकता रहेको र एकजुट भएर हिड्नुपर्ने समय आएको नेता यादवले धारणा राखे ।
कार्यकर्ता भेटघाट कार्यक्रममा सांसद यादवले विकासको काममा पार्टीभन्दा माथि उठेर लाग्न जनप्रतिनिधिसहित सबैलाई आग्रह गरे । उनले आफूबाट हुन सक्ने सहयोगबारे खुलेर माग्न आग्रह गर्दै समाजको हितमा हुने कामको लागि आफू कुनै प्रकारको सहयोग गर्न पछि नहट्ने प्रतिवद्धतासमेत गरे ।
यस्तै, प्रदेश २ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले मधेशी जनता देशको सम्मानित नागरिक बन्न सचेत हुन जरुरी भएको औल्याएका छन् । उनले कांग्रेस, नेकपालगायतका दलले मधेशसँग धोकाधडी मात्र गर्दै आएको भन्दै अब सचेत हुनुपर्ने समय आएको बताए ।
राज्यमन्त्री मण्डलले कांग्रेस, नेकपामा आवद्ध रहेका मधेशीले आफ्नो अधिकारको लागि समेत बोल्न नसकेको र आफूहरुसँग गुहार मागेको सुनाए । राजपा एउटा पार्टी मात्र नभई अभियान भएको बताउँदै यसको लक्ष्य धेरै ठूलो भएको उनले बताए ।
मधेशी जनता अधिकारको रुपमा शक्तिमान नभएसम्म राजपा अभियानमै रहने राज्यमन्त्री मण्डलले जनाए । राज्यमन्त्री मण्डलले प्रदेशको सन्दर्भमा संघीय सरकारको हस्तक्षेप र असहयोगले गर्दा कामलाई गति दिन नसकेको गुनासोसमेत गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…