आज दशैंको सातौं दिन, कालरात्रिको पूजासहित फूलपाती भित्र्याइँदै
नेपालीहरुको महान् चाड दशैं अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्दछ ।

२०७६ असोज १८ शनिबार, बिहान ९:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैं घरमा फूलपाती भित्र्याइँदैछ ।
प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दसैं घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ ।
नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।
देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता छ । फूलपाती भित्र्याएपछि नववटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि शुरु हुने नेपालीहरुको महान् चाड दसैं अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्दछ ।
आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रुपमा टीका थाप्न आआफ्नो घर फर्कने क्रम अझ तीव्र हुने गर्दछ ।
फलस्वरुप नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटामा हालिने लिङ्गे पिङ र रोटे पिङले दशैंको रौनकतालाई अझ बढाउने गर्दछ । आजकै दिन माता दुर्गाको सातौं रुप कालरात्रिको पूजा गरिन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…