कर्मचारीले दशैंमा पनि पाएन तलब, 'एमालेको हुँ भनेर धाक लगाउँछन् अधिकृत'
अधिकृत रँजित यादव विना स्वीकृतिको सधैं घुमफिरमा बाहिरै बाहिर रहेको आरोप उनले लगाए ।

२०७६ असोज १६ बिहीबार, बिहान ९:२६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । गाउँपालिकाको कर्मचारीहरुको आलटालका कारण गाउँपालिकाभित्रको अन्य राष्ट्रसेवक कर्मचारीहरुले तलब नपाउँदा दशैंमा वित्यास भएको छ ।
प्रदेश नं. २ को सर्लाही जिल्लाको बसबरिया गाउँपालिकाका कर्मचारीहरुले दशैं जस्तो चाडमा पनि तलब नपाउँदा उनीहरुको उठीवास भएको बताएका छन् । सम्बन्धित गाउँपालिकाका स्वास्थ्य क्षेत्रमा कार्यरत संजीव कुमार यादवले विगत ३ महिनाको तलब सहित दशैं पेश्की सहित ४ महिनाको तलब पाउन नसकेर परिवार धान्न गाह्रो भएको बताए । उनले भने, हेर्नुस, विगत ३ महिनादेखि तलब दिएको छैनन, गाउँपालिकाको अधिकृत र लेखापालबीच कुरा नमिलेर त्यसको झगडामा गाउँपालिका अन्तर्गतको सबै कर्मचारी पिसानमा परेका छन् । हामीहरुको उठीवास भएको अवस्था छ, दशैं जस्तो चाडमा पनि तलब नदिँदा चाडपर्व मनाउन गाह्रो भएको छ ।
यस सन्दर्भमा गाउँपालिका अध्यक्ष राम अयोध्या यादवले गाउँपालिकाका अधिकृत र लेखापालबीच कुरा नमिल्दा कर्मचारीहरुको तलब निकासा नभएको दाबी गरे । प्रमुख प्रशासकीय अधिकृत रँजित कुमार यादव र लेखापाल गणेश यादवबीच किचलोका कारण कर्मचारीहरुको तलब निकासा हुन नसकेको बताए । उनले भने, - "अधिकृत ३ महिनादेखि कार्यालय आएको जस्तो छैन, महिनामा मुस्किलले एक दिन उपस्थित हुने गरेको छ, यस्तो लाग्छ की गाउँपालिकाको कार्यालय नै होइन , सधैं घुमफिरमा व्यस्त हुन्छन अधिकृत ।"
प्रमुख प्रशासकीय अधिकृत आफू एमाले पार्टीबाट रहेको भन्दै सध्रैं धाक धम्की लगाउँदै गरेको आरोप गाउँपालिका अध्यक्ष यादवको छ । कर्मचारीहरुको तलब, अन्य निकासा र कोष लेखा नियन्त्रण कार्यालयको कार्यहरु तथा कागजातहरु दुरुस्त पार्न भनेपछि कहिल्यै कार्यालय नआउँदा कर्मचारीहरुको विजोग भएको सुनाए । उनले भने, - "आज पनि बैठक डाकेको छु, तत्कालै कर्मचारीको समस्या तर्फ ध्यान दिनु जरुरी छ ।"
गाउँपालिकाको लेखापालको सरुवा भएर अन्यत्र गएको बताउँदै उनले अहिले राखिएको लेखापाल शारिरिक रुपले तन्दुरुस्त नभएको कारण पनि समय दिन नसकेको बताए । अधिकृत रँजित यादव विना स्वीकृतिको सधैं घुमफिरमा बाहिरै बाहिर रहेको आरोप उनले लगाए ।
यता, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रञ्जित यादवले लेखापाल गणेश यादवको बदमासीका कारण कर्मचारीहरुको तलब भत्ता निकासा हुन नसकेको बताए । गाउँसभा समेत नभएको कारणले गर्दा आर्थिक कारोबार गर्न गाह्रो भएको बताउँदै जनप्रतिनीधिहरुको कमजोरीको कारण पनि गाउँसभा हुन नसकेको बताए । उनले घुमफिरमा व्यस्त मात्र भएको आरोपलाई खण्डन गर्दै आफू नियमित कार्यालयमा उपस्थिती जनाएको बताए ।
लेखापाल गणेश यादव तीन ठाउँको काम गर्दै आएकोले उनले यसपाली यहाँको काम नहेरिदिने भनेपछि कर्मचारीहरुको तलब निकासा नभएको दाबी गरे । यस सन्दर्भको लागि आज बोलाइएको बैठकबाट केही निष्कर्ष निस्कने आश्वासन दिँदै उनले दुई दिनमै नयाँ खाता सँचालन गरी तलब निकासा असम्भव रहेको पनि बताए । उनले भने - "आज बैठक बोलाइएको छ, कर्मचारीहरुको लागि कुनै उपाय गर्नुपर्ने आवश्यकता छ ।"
यस सन्दर्भमा भने लेखापाल यादवसँग सम्पर्क हुन सकेनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…