मधेशको मन दुखाएर काठमाडौंमा स्थिरता आउँदैन : रविन्द्र मिश्र
संयोजक मिश्रले विभिन्न राजनीतिक दलले मधेशलाई स्वार्थपूर्तिको भाँडोको रुपमा मात्र प्रयोग गर्दै आएको टिप्पनी गरे ।

२०७६ असोज ११ शनिबार, राति ९:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । साझा पार्टीका संयोजक रविन्द्र मिश्रले मधेशको समृद्धि र विकास विना मुलुकको विकास हुननसक्ने बताएका छन् ।
सिरहाको गोलबजारमा शनिबार आयोजित साझा पार्टीको सिरहा संयोजक घोषणा समारोहलाई सम्बोधन गर्दै संयोजक मिश्रले मधेशको विकास नभईकन समग्र नेपालको विकास हुननसक्ने बताएका हुन् । उनले विभिन्न राजनीतिक दलले मधेशलाई स्वार्थपूर्तिको भाँडोको रुपमा मात्र प्रयोग गर्दै आएको टिप्पनी गरे ।
अधिकारको नाममा मधेशीको भोट लिएर नेताहरुको कायापलट भएपनि मधेश र मधेशी जनताको भने उही हालत यथावत रहेको उनले जिकिर गरे । संयोजक मिश्रले सरकार तथा प्रतिनिधिको गैरजिम्मेवारपन र धोकाधडीले मधेशको शैक्षिक अवस्था जर्जर बनेकै कारण मधेश पछाडि परेको बताए ।
सरकार र मधेशी जनताबाट भोट लिएका जनप्रतिनिधिहरु मधेशप्रति जिम्मेवार नबनेको भन्दै मधेशको मन दुखाएर काठमाडौंमा स्थिरता नआउने उनले बताए । उनले भने, ‘मधेशलाई भाँडो बनाएर सिंहदरवारमा स्थिरता र शान्तिको सरकार रहन सक्दैन ।’ मधेश समृद्ध भएमात्र मधेशले अधिकार प्राप्त गर्ने उनले बताए ।
संयोजक मिश्रले आफ्नो पार्टी सत्तामा गए शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने र मुलुकलाई गुणस्तर शिक्षाको हव बनाउने बताए । देशका नागरिक शिक्षित भएपछि सबै समस्या समाधान हुने उनको भनाई थियो ।
साझा पार्टीका केन्द्रीय नेताहरुको उपस्थितीमा भएको घोषणा कार्यक्रमबाट पार्टीको सिरहा जिल्ला संयोजकमा धनपति महतोलाई अनुमोदन गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…