सिरहाका एक विद्युत प्राधिकरण कार्यालय प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर
करारमा जागिर लगाइदिने भन्दै प्रमुख सोनारले दुईजनासँग एक लाख पचास हजारको दरले तीन लाख रुपैया घुस लिएको पुष्टि भएको छ ।

२०७६ असोज ९ बिहीबार, दिउँसो २:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाका एक विद्युत प्राधिकरण वितरण केन्द्रका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र औरही, सिरहाका कार्यालय प्रमुख छेदिलाल साह सोनारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो । जागिर लगाइदिन घुस लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार सोनारविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
करारमा जागिर लगाइदिने भन्दै प्रमुख सोनारले प्रलोभनमा पारी दुईजनासँग पटक पटक नगद तथा बैंक दाखिलासमेत गरी एक लाख पचास हजारको दरले तीन लाख घुस लिएको तथ्य फेला परेपछि उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएका प्रवक्ता प्रदीकुमार कोइरालाले जानकारी दिए ।
यसबाहेक पुनः एकजना सेवाग्राहीसँग ५० हजार र अर्का सेवाग्राहीसँग ३० हजार घुस लिइरहेको अवस्थामा अख्तियारको बर्दिवास कार्यालयबाट गएको टोलीले प्रमुख सोनारलाई पक्राउ गरेको थियो । उनले प्राधिकरणको शाखा कार्यालय सिरहामा करारमा जागिर लगाइदिन र सेवाग्राहीबाट थप ८० हजार घुस लिएको अनुसन्धानबाट पुष्टि भएको अख्तियारको दाबी छ ।
साथै जागरिको प्रलोभनमा परेका सरोजकुमार यादव र लक्ष्मीनारायण यादव घुस दिने कार्यमा दोषी देखिएपनि अनुसन्धानको क्रममा यथार्थ कुरा खुलाई सहयोग गरेकोले मागदाबीमा पूर्ण छुट दिई दुबै जनालाई आयोगले साक्षीको रुपमा प्रस्तुत गरेको छ ।
३ लाख ८० हजार रुपैयाँ विगो कायम गरी भ्रष्टाचार निवारण ऐनअनुसार सोनारलाई जरिवाना तथा कैद सजायको माग दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…