धनुषाका यी किशोर साईकल पसलमा गर्छन् काम, बनाए हेलिकप्टर !
हेलिकप्टरलाई २ जना सवार भएर १० देखि २० फिट्सम्म तत्काल उडाउन सक्ने हरिको भनाई छ ।

२०७६ असोज ६ सोमबार, बिहान १०:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा एक विद्यार्थीले हेलिकप्टर बनाएका छन् । साईकल पसलमा काम गर्दै आएका धनुषाको मिथिला नगरपालिकाका १७ वर्षीय हरिनारायण पण्डितले हेलिकप्टर बनाएका हुन् ।
साईकल, मोटरसाईकल, ट्याक्टर, बस र कारमा प्रयोग हुने इन्जिनको पार्टपूर्जा जोरजाम एवं प्रयोग गरेर हरिनारयाणले २ महिनाकै अवधिमा हेलिकप्टर निर्माण गरेर सबैलाई चकित बनाएका छन् । हरिनारयणले पेट्रोलबाट चल्ने इन्जिन जोडेर बनाएको हेलिकप्टर उडाउने तर्खरमा छन् ।
मिथिला नगरपालिका वडा नं. ५ बस्ने श्रीनारायण पण्डितका छोरा हरिनारायण ढल्केवरस्थित महेन्द्र माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत्त छन् । सामान्य घरपरिवारका भएकाले हरिनारायण अध्ययन गर्दै र ढल्केवरको तरा साईकल स्टोर पसलमा विगत ३ वर्षदेखि साईकल मर्मतको काम गर्दै आएका छन् ।
साईकल पसलमा काम गरे वापत सुरुमा महिनाको ९ हजार र पछि २ वर्षदेखि १२ हजारको महिना दिने गरेको हरिनारायणले बताए । साईकल पसलमै काम गर्दा गर्दै यसअघि हरिनारायणले एकवर्ष अघि रेन्जर साईकलमा पेट्रोल इन्जिन प्रयोग गरी मोटरसाईकल बनाएर सडकमा गुडाएका थिए ।
हेलिकप्टर निर्माणमा २ लाख रुपैयाँ खर्च भएको हरिनायाणले बताए । छोराको हेलिकप्टर निर्माणमा बुबा श्रीनारायण र आमा निर्मला देवीले सघाएका छन् । हरिनारायणले आफू बनाएको हेलिकप्टर १०–१२ दिनअघि उडाउन जाँचेपछि धर्तीभन्दा केहि माथि उडेको पनि थियो । तर, त्यसपछि ईन्जिनमा केहि खरबी आएपछि उनले अब पूर्ण रुपमा मर्मत गरेको बताउँछन् ।
मर्मत गरेर हेलिकप्टर उडाउने तयारी गरिएपनि स्थानीय प्रशासणको अनुमति विना फेरी उडाइएको छैन । हेलिकप्टरलाई औरही खेलाको खुल्ला चौरमा २ जना सवार भएर १० देखि २० फिट्सम्म तत्काल उडाउन सक्ने हरिको भनाई छ ।
यस सम्बन्धमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले हेलिकप्टर उडाउन नागरिक उड्ययन कार्यालयले अनुमति दिएमात्र आफुहरु अनुमति दिनसक्ने भन्दै यसको लागि अनुमति लिन भनेको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…