समाजवादीको जिल्ला समायोजन तीव्र, सिरहा अध्यक्षमा यादव
प्रदेश अध्यक्ष यादवले एकीकृत पार्टीको सिद्धान्त र एजेण्डा जनताको घरघरमा पुर्याउनु पर्नेमा जोड दिए ।

२०७६ असोज ४ शनिबार, बेलुकी ६:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । संघीय समाजवादी फोरम नेपाल र नयाँशक्ति पार्टीबीच एकीकरण भएर बनेको समाजवादी पार्टीले जिल्ला समायोजन कार्य तीव्र पारेको छ ।
दुबै पार्टीबीच एकता भएको केही महिनापछि शनिबार प्रदेश २ को सिरहा जिल्लाको समायोजन गरिएको छ । दुबै पार्टीको समायोजनपछि बनेको समाजवादी पार्टी नेपालको सिरहा अध्यक्षमा अशोक कुमार यादवलाई सर्वसम्मत चयन गरिएको छ ।
समाजवादी पार्टीको मधेश प्रदेश अध्यक्ष विजय कुमार यादवको प्रमुख आतिथ्यमा भएको समायोजन घोषणा कार्यक्रमबाट ७ जना पदाधिकारीसहित जम्मा ८७ सदस्यीय नयाँ जिल्ला समिति गठन गरिएको छ । पार्टीको सिरहा जिल्ला समितिमा तीनजना उपाध्यक्षहरूमा त्रिपुरा झा, राकेश रोशन गुप्ता र सोमित पासमान चयन भएका छन् भने सचिवमा जगदिश महतो, उपसचिवमा जीतनारायण यादव र कोषाध्यक्षमा लालबहादुर यादवलाई चयन गरिएको छ ।
जिल्ला समायोजन घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश २ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका प्रदेश अध्यक्ष यादवले एकीकृत पार्टीको सिद्धान्त र एजेण्डा जनताको घरघरमा पुर्याउनु पर्नेमा जोड दिए ।
मधेश प्रदेश कार्य सम्पादन समितिको निर्णयानुसार शनिवार सिरहाको समायोजन गरिएको र बाँकी जिल्लाको समायोजन कार्य क्रमशः गरिँदै जाने समाजवादी पार्टीका मधेश प्रदेश सचिव एवं प्रचारप्रसार विभाग प्रमुख दिनेश यादवले जानकारी दिए ।
समायोजन कार्यक्रममा प्रदेश अध्यक्ष विजय कुमार यादव, उपाध्यक्ष सुशिल यादव, मुख्यसचिव शम्भु झा, सचिव रामकैलाश यादव, दिनेश यादव र कोषाध्यक्ष रेणु यादव लगायत जिल्लाका नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागिता थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…