संविधान संशोधन नभए फाल्नुपर्ने अवस्था सिर्जना हुनेछ : राजेन्द्र महतो
सरकारले दीपावलीको उर्दी जारी गरेर दीपावली नहुने भन्दै उनले संविधान दिवसको दिन ७० प्रतिशत जनताले ब्ल्याकआउट गर्ने चेतावनी दिए ।

२०७६ असोज २ बिहीबार, बेलुकी ६:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता तथा सांसद राजेन्द्र महतोले सरकारले संविधानको सर्वस्वीकार्यतालाई प्राथमिकता नदिएको भन्दै सरकारको चर्को आलोचना गरेका छन् ।
प्रतिनिधि सभाको बिहीबारको तेश्रो बैठकमा राजपाका सांसद महतोले संविधान संशोधन गर्ने प्रतिबद्धता जनाएर पनि डेढ वर्षसम्म पनि संविधान संशोधन नगरिएकोमा गम्भीर असहमति जनाएका हुन् । उनले संविधान संशोधन नभए यसअघिका संविधान जस्तै संघीय संविधान पनि फाल्नुपर्ने अवस्था सिर्जना हुने भन्दै त्यसतर्फ गम्भीर बन्न चेतावनी दिए ।
सरकारले दीपावलीको उर्दी जारी गरेर दीपावली नहुने भन्दै उनले संविधान दिवसको दिन ७० प्रतिशत जनताले ब्ल्याकआउट गर्ने चेतावनी दिए । संविधानलाई असफल बनाउने र प्रहार गर्ने काम सरकारकै क्रियाकलापबाट भएको दाबी पनि उनले गरे ।
निर्मला प्रकरण, वाइड बडी, सुन काण्ड, बालुवाटार जग्गा प्रकरणलगायतका घटनाका दोषीलाई कारबाही नभएकोमा पनि उनले सरकारको ध्यानाकर्षण गराए । उनले ‘बालुवाटार बिक्री भइसक्यो । सिंहदरबार कहिले बिक्री हुने हो त्यो पनि बताइदिनुर्पयो’ भनेर प्रश्न पनि गरे ।
नागरिकताका सम्बन्धमा न्यायाधीशपिच्छे अलग–अलग फैसला आउने गरेको भन्दै उनले भने, ‘कहिले खोल्ने कहिले बन्द गर्ने लोडसेडिङको बेलामा बत्ती आउनेजाने जस्तो अदालतको फैसला पनि त्यही भएको छ नागरिकताको सवालमा ।’
उनले सरकारमै सहभागी भएको पार्टीले संविधान दिवस नमनाएपछि सरकारमाथि नै बैधानिकताको प्रश्न उठेको टिप्पणी गरे । उनले समाजवादी पार्टीका अध्यक्ष एवं सरकारका उपप्रधानमन्त्री उपेन्द्र यादवलाई संविधान दिवस नमनाउने भनेर सरकारमै बसिरहन नमिल्ने भन्दै धारणा स्पष्ट पार्न समेत आग्रह गरे ।
लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सभामुखले दुई पटक गरेको रुलिङलाई नमानेर सरकारले संसदीय अभ्यासमाथि नै अपमान गरेको भन्दै उनले संसद अधिवेशनलाई नै ‘कालो अध्याय’ को रुपमा रहेको टिप्पणी गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…