उपेन्द्र यादव संविधान दिवस छल्न अमेरिका उड्दै !
उपेन्द्र यादवको पार्टीले विरोध दिवस यसपाली नमनाउने निर्णय गरेपछि सत्ताको लोभमा जनतालाई गुमराहमा पारेको भन्दै विभिन्न खालका टिक्काटिप्पनी भइरहेका छन् ।

२०७६ भदौ ३१ मंगलबार, बेलुकी ५:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल सरकारका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीले संविधान दिवसको दिन कुनैपनि कार्यक्रम नगर्ने निर्णय गरिसकेको छ ।
संविधान जारी भएदेखि हरेक वर्ष असोज ३ गते विरोध दिवस मनाउँदै आएको उपेन्द्र यादवको तत्कालिन संघीय समाजवादी फोरम नेपाल नयाँ शक्तिसँग एक भएपछि यसपाली संविधान दिवसको दिन कुनै कार्यक्रम नगर्ने भएको हो ।
उपेन्द्र यादवको पार्टीले संविधान दिवसको दिन पहिले झैँ विरोध दिवस यसपाली नमनाउने निर्णय गरेपछि सत्ताको लोभमा जनतालाई गुमराहमा पारेको भन्दै विभिन्न खालका टिक्काटिप्पनी भइरहेका छन् । मधेशमा कालो दिनको रुपमा मनाउने तयारी भइरहेका बेला उपप्रधानमन्त्री यादव भने संविधान दिवस छल्न अमेरिका उड्ने तयारीमा छन् ।
सरकारले असोज ३ गते मनाउने औपचारिक कार्यक्रम तथा मधेशमा हुने ब्ल्याक आउट छल्न उनी त्यसतर्फ जान लागेका हुन् । गत वर्ष समेत सरकारमै रहेपनि पार्टीभित्रै चर्काे विवाद निम्तेपछि यादव संविधान दिवसमा सहभागी भएनन् । यसपटक भने विवाद छल्नकै लागि यादव अमेरिका उड्न लागेको उनी निकट एक नेताले बताए ।
यता, संविधानप्रति असन्तुष्टि जनाउँदै आएको राजपाले असोज ३ गतेलाई विगत झैँ कालो दिनको रुपमा मनाउने निर्णयसहित विरोध प्रर्दशनमा केन्द्रीय नेतालाई जिल्लामा खटाउने निर्णय समेत गरिसकेको छ । राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले विज्ञप्ति प्रकाशित गरी अध्यक्षमण्डल बाहेकका केन्द्रीय नेतालाई जिल्लामा खटाउने निर्णय गरिएको जनाए ।
त्यस्तै, समाजवादी र राजपा गठबन्धनको सरकार रहेको प्रदेश २ मा समेत संविधान दिवस मनाउन वा नमनाउने विषयमा विवाद छ । प्रदेश सरकारले संविधान दिवस मनाउने निर्णय गरेपनि उक्त निर्णयको प्रदेश मन्त्रिपरिषद् सदस्यबाटै आलोचना भइरहेको छ ।
राजपाको तर्फबाट मन्त्रिमण्डलमा सहभागी मन्त्रीहरूले आफूहरू संविधान दिवस कार्यक्रममा सहभागी नभई विरोध कार्यक्रम गर्ने बताउँदै आएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…