सिंगापुर र स्वीजरल्याण्डको सपना नबाडौं, नेपाललाई नेपाल बनाऔं : प्रदीप गिरी
सिंगापुर र स्वीजरल्याण्डको सपना देखाएर नभई सुशासन कायम गर्दै नेपाललाई नेपाल बनाउने संकल्पमा मुलुकलाई अघि बढाउन सरकारलाई आग्रह गरे ।

२०७६ भदौ २४ मंगलबार, बेलुकी ५:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । नेपाली काँग्रेसका सांसद प्रदीप गिरीले विकासको बैकल्पिक बाटो अबलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै उनले मुलुकको विकासका लागि पूँजीवाद र पूँजीवादको अनुकरणमा हिँडेका साम्यवादी बाटोले नहुने भएकाले बैकल्पिक बाटो अबलम्बन गर्नुपर्ने बताएका हुन् ।
विश्वभरमा नै अहिले विकासको बैकल्पिक बाटोबारे छलफल भइरहेको भन्दै उनले अनाहक ऋणको बोझमा पारेर सिंगापुर र स्वीजरल्याण्डको सपना देखाएर नभई सुशासन कायम गर्दै नेपाललाई नेपाल बनाउने संकल्पमा मुलुकलाई अघि बढाउन सरकारलाई आग्रह गरे ।
स्वर्गीय वीपी कोइरालाले विकास गर्दा सँधै मानिसलाई केन्द्रविन्दुमा राख्नुपर्ने कुरा बताउँदै आएको स्मरण गर्दै उनले वीपीले देखाएको बाटोमा हिँड्न आग्रह गरे । बीपीले सँधै ‘चहराइरहेका घाउमा मल्हम लगाउन, गाउँमा रहेको वेरोजगारी, अर्धवेरोजारी र गुप्त वेरोजारी सम्बोधन गर्न तथा ठुलाठुला हवाई जहाजका कुरा गरेर जनतालाई भ्रमित नबनाउन’ भन्दै आएको उल्लेख गर्दे उनले विकासका बारेमा बीपीले देखाएको बैकल्पिक बाटो तर्फ सोच्न सरकारको ध्यानाकर्षण गराए ।
त्यस्तै सांसद अनिलकुमार झाले प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरण तथा उद्धार, राहत र पुनस्र्थापनाको काम प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि तत्काल विपद व्यवस्थापन प्राधिकरण गठन गर्न सरकारको ध्यानाकर्षण गराए ।
प्रत्येक बर्ष प्रदेश नम्बर २ मा बाढी र डुबानबाट ठूलो क्षति हुने गरेको भन्दै उनले त्यसको दोष छिमेकीलाई लगाउनुको सट्टा पूर्व तयारी लगायतको आवश्यक वन्दोबस्तीको काम गर्नका लागि तत्काल प्राधिकरण गठन गर्नुपर्नेमा जोड दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…