सप्तरीको तिरहुत गापामा ६ करोडबढी अनियमितता
केन्द्र सरकार तथा प्रदेश सरकारसमेतले सुशासनको चर्को नारा लगाएपनि स्थानीय तहमा मौलाउँदै गएको चरम भ्रष्टाचार रोक्न केही गर्न सकेको छैन ।

२०७६ भदौ १५ आइतबार, बिहान ११:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सप्तरी । प्रदेश २ को सप्तरी तिरहुत गाउँपालिकामा ६ करोडभन्दा बढी रकम अनियमितता भएको छ ।
महालेखा परीक्षक कार्यालयले गरेको लेखा परीक्षण प्रतिवेदनमा ६ करोड ७१ लाख ९८ हजार १३ रुपैयाँ अनुशासन विपरित खर्च गरेको देखिएपछि यस्तो खुलासा भएको हो । गाउँपालिकाको आर्थिक वर्ष ०७४÷०७५ मा अनियमित खर्च गरेको पाइएको छ ।
आन्तरिक श्रोत वृद्धि गरी नगर कार्यापालिकाको खर्च गर्नु पर्ने सो नगरी अनुदानबाट खर्च गरी पारिश्रमिक तथा वैठक भत्ता खर्च भएको, गाउँसभाले विनियोजन गरेको विकास निर्माणको बजेट माटो तथा ग्राभेलमा अधिकांश खर्च गरेको, आन्तरिक आयको शीर्षक शीर्षक गत हुनुपर्नेमा एकमुष्ठ आम्दानी गरी वैंक दाखिला गरेको अनियमित खर्च गरेको देखिएको छ ।
यसैगरी आन्तरिक राजस्व कार्यालयलाई भुक्तानी भएका भुक्तानी विवरण पठाउनुपर्नेमा सो विवरण पठाएको छैन भने उपभोक्ता समितिले काम गर्दा पेश गरेको डोर हाजिर फारममा सम्वन्धित कामदारले रकम बुझेको भर्पाई बेगर भुक्तानी गरेको प्रतिवेदनमा देखिएको छ । गाउँपालिकामा सम्पन्न भनिएको अधिकांश निर्माण कार्यको कार्य सम्पन्न प्रतिवेदन बेगर नै भुक्तानी गरिएको समेत प्रतिवेदनमा उल्लेख छ ।
यसैगरी अनेकौ निर्माण कार्यमा रकम भुक्तानी दिँदा प्राविधिक मुल्याङ्कनमा कार्यालय प्रमुखको दस्तखत बेगर भुक्तानी दिएकोले सो कागजातमा गरी नियमित गनुपर्र्ने प्रतिवेदनमा जनाईएको छ । लेखा परीक्षणको प्रतिवेदन अनुसार ८ लाख १३ हजार ७५ रुपैयाँ असुल गर्नुपर्ने, ३८ लाख ६७ हजार ९ सय ४१ रुपैयाँ नियमित गर्नुपर्ने, २ करोड ७४ लाख ४१ हजार २ सय ६० रुपैयाँको कागजात पेश गर्नुपर्ने र ३ करोड ५० लाख ७५ हजार ७ सय ३७र रुपैयाँ पेश्की फछ्यौट गर्नुपर्ने सुझाव समेत दिइएको छ ।
केन्द्र सरकार तथा प्रदेश सरकारले समेत सुशासनको चर्को नारा लगाएपनि स्थानीय तहमा मौलाउँदै गएको चरम भ्रष्टाचार रोक्न केही गर्न सकेको छैन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…