प्रदेश २ का यी २० स्थानीय तहले अझै ल्याउन सकेनन् बजेट !
कानूनअनुसार सम्बन्धित गाउँ र नगर सभामा बजेट पेश भई स्वीकृत नभएसम्म स्थानीय तहले बजेट खर्च गर्न पाउँदैनन् ।

२०७६ भदौ ७ शनिबार, बिहान ६:११ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । चालु आर्थिक वर्ष २०७६ र ०७७ को कार्यान्वयन शुरु भएको १ महिना नाघिसकेको छ । तर, अझै पनि प्रदेश २ का २० वटा स्थानीय तहले आफ्नो वार्षिक बजेट सार्वजनिक गरेका छैनन् ।
कानूनअनुसार सम्बन्धित गाउँ र नगर सभामा बजेट पेश भई स्वीकृत नभएसम्म स्थानीय तहले बजेट खर्च गर्न पाउँदैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार १ सय ३६ स्थानीय तहमध्ये १ सय १६ वटाले विभिन्न मितिमा बजेट सार्वजनिक गरिसकेका छन् ।
अन्तरसरकारी वित्त व्यवस्थापन ऐनअनुसार स्थानीय तहले १० असारभित्रै अनिवार्य रुपमा बजेट ल्याउनुपर्छ । तर, तोकिएको अवधिभन्दा दुई महिना नाघ्दा समेत केही स्थानीय तह बजेट ल्याउन असफल बनेका छन् ।
१ सय ३६ स्थानीय तह रहेको यस प्रदेशमा अझै २० स्थानीय तहको बजेट सार्वजनिक भएको छैन । बजेट ल्याउन असफल स्थानीय सरकारहरुले तलव भत्ताका लागि पेस्की बजेट खर्च गर्न सक्ने भएपनि विकास निर्माण तथा ठूला कार्यक्रममा भने खर्च गर्न सक्दैनन् ।
बजेट सार्वजनिक नगरेका स्थानीय तहहरुमध्ये रौतहटका सबैभन्दा बढी छ । रौतहटका ६ स्थानीय तहले अझ बजेट ल्याउन सकेका छैनन् । बजेट ल्याउन नसक्नेमा कटहरिया नगरपालिका, फतुजाविजयपुर नगरपालिका, गुजरा नगरपालिका, वृन्दावन नगरपालिका, बौधिमाई नगरपालिका र तिरहुत गाउँपालिका रहेका छन् ।
यस्तै, पर्साका ५ स्थानीय तहले बजेट ल्याउन सकेको छैन । कालिकामाई गाउँपालिका, धोबिनी गाउँपालिका, पकाहा मैनपुर गाउँपालिका, विन्ध्यबासिनी गाउँपालिका, सुखवा प्रसौनी गाउँपालिकाले बजेट ल्याउन नसकेको हो । सप्तरीका छिन्नमस्ता गाउँपालिका, बलान–विहुल गाउँपालिका, महादेवा गाउँपालिका र राजगढ गाउँपालिका गरी ४ स्थानीय तहले पनि बजेट सार्वजनिक गरेको छैन ।
बजेट ल्याउन नसक्नेमा सिरहाका पनि २ स्थानीय तह छन् । सिरहाको औरही गाउँपालिका र कल्याणपुर नगरपालिका हालसम्म बजेठ ल्याउन सकेको छैन । त्यसैगरी, धनुषाको कमला नगरपालिका, सर्लाहीको बलरा नगरपालिका, बाराको बारागढी गाउँपालिकाले पनि अहिलेसम्म पनि बजेट सार्वजनिक गर्न सकेको छैन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…