मधेशकी 'सुषमा'लाई जन्मथलोमा भव्य स्वागत !
सिंगिङ रियालिटी शो ‘नेपाल लोकस्टार’बाट आफ्नो गायन शैली र दमदार प्रस्तुतिले उनी सबैको मनमस्तिकमा कब्जा जमाउन सफल भइन् ।

२०७६ भदौ ३ मंगलबार, राति ९:०३ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल लोकस्टारबाट छाएकी सुषमा कुमारी झा यत्तिबेला चर्चामा छिन् । एपीवान टेलिभिजनबाट प्रसारण भइरहेको सिंगिङ रियालिटी शो ‘नेपाल लोकस्टार’बाट आफ्नो गायन शैली र दमदार प्रस्तुतिले उनी सबैको मनमस्तिकमा कब्जा जमाउन सफल भइन् ।
दमदार प्रस्तुतिका साथ गन्तव्यतर्फ लम्किरहेकी सुषमा १४औं स्थानसम्म पुगेर भोटिंगका कारण बाहिरिइन् । उनी सिंगिङ शोबाट बाहिरिएपनि दर्शकको मनबाट भने कहिले नबाहिरिने बनिन् । केहि दिनयता त समाजिक संजाल नै सुषमामय भएको देखियो ।
तर, चाहिने जति प्रचार प्रसार भने हुन सकेन । प्रचार प्रसारको अभाव र मधेशका बासिन्दाको पहुँचमा टेलिभिजन नहुनुले पनि उनी प्रयाप्त भोट पाउन सकिनन् । यसैकारण प्रतियोगिताबाट बाहिरिन पुगेकी सुषमा सोमवार आफ्नो जन्मथलो राजविराज आइपुगेकी छिन् ।
नेपाल लोकस्टारबाट चम्किएकी तथा सिँगो मधेशकै मान बढाएकी प्रदेश २ को सप्तरी राजविराज नगरपालिका–५ निवासी सुषमालाई जन्मथलोमा भव्य स्वागत गरिएको छ । गायन क्षेत्रमा अगाडि बढ्दै गरेकी सुषमालाई स्वागत गर्दै बधाई र प्रगतिको कामना गरेका छन् ।
विमानबाट ओर्लिए लगत्तै परिवारजन तथा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई स्वागत गर्न बसेको देख्दा उनको अनुहार खुशीसँगै उदासीको भाव झल्किरहेको थियो । आफन्तलाई भेटेर उनका आँखा टिलपिलाउनै लागे आफुलाई सम्हालिरहेको प्रष्ट देखिन्थ्यो ।
लोकस्टरमा आफुले भरमग्दूर प्रयास गरेपनि भोटिङ्गकै अभावमा बाहिरिनु परेकोमा दुःख लागेको उनले बताइन् । आफु मैथिलीभाषी भएपनि तयारी गरेर नेपाली लोकगीत गाउँदा निक्कै प्रोत्साहन पाएको बताउँदै उनले भनिन् ‘मधेशकी छोरीहरु त्यसै कलाक्षेत्रमा प्रतिभा भएर पनि पछाडि छन्, उनीहरुलाई थप प्रोत्साहनको आवश्यकता छ ।’
आफु मैथिली संस्कारमा हुर्केको तथा बुवाबाट समेत मैथिली गीतहरु सिकेकोले नेपाली लोकगीत गाउँदा शुरुमा अलि कठिनाई भएको उनले अनुभव सुनाईन् । पछिल्ला इपिसोडहरुमा मधेशबाट रविराज र आफुमात्र रहेको सम्झिदै उनले भनिन् ‘नेपाल लोकस्टार स्टारका इपिसोडहरुमा नेपाली गीत गाउनुपर्ने बाध्यता थियो, मलाई लाग्छ, मैथिली लोकगीतलाई नै अन्त्यसम्म मान्यता दिएको भएर मैथिलीभाषी पनि नेपाल लोकस्टारको विजेता बन्ने निश्चित थियो ।’
लोकस्टारमा एउटा मोबाइल नम्वरबाट एउटा मात्र भोटिङ्ग राख्नुपर्नेमा एउटै मोबाइलबाट सय ओटासम्म भोटिङ्ग गर्न पाउनुले कताकता अलि प्रतिभाको पहिचानमा समस्या भएको गायिका सुषमाले बताइन् । मधेशका बासिन्दाहरुको पहुँचमा टेलिभिजन नहुनु तथा प्रचार–प्रसारको अभावले पनि कम भोट आएको उनले बताइन् ।
पहिला आफु राजविराज तथा आसपासमै सिमित रहेकोमा लोकस्टारमा सहभागी भएपछि देश दुनियाँले चिनेकोमा आफुलाई खुशी लागेको बताउँदै उनले भनिन् ‘जिल्लामा सिक्ने राम्रो ठाउँ समेत छैन, स्थानीय तथा प्रदेश सरकारले समेत ध्यान दिनुपर्नेमा हालसम्म यो क्षेत्रमा खासै केही गरेको छैन, यद्यपी म अझ मेहनत गरेर भविष्यमा सफल गायिका बनेर देशमा आवाजले नै चिनाउनेछु ।’
निर्णाकहरु तथा प्रतियोगी साथीहरुबाट छुट्टिनु पर्दाको क्षण अत्यन्त पीडादायी रहेको स्मरण गर्दै उनले सबैजना रोएर विदाई गरेको बताइन् । मधेशमा छोरीलाई विदाई गरेझैं कोसेलीहरु दिएर आफुलाई विदाई गरेको बताउँदै उनले भनिन् ‘हामी त त्यहाँ परिवार जस्तै भइसकेका थियौ, आउन मनै मानिरहेको थिएन तर के गर्नु, भोटिङ्गले साथ दिएन ।’
को हुन् सुषमा झा ?
चार वर्षकै उमेरदेखि गायन क्षेत्रमा प्रवेश गरेकी उनी कुल १ सय ९ प्रतियोगीहरु रहेकोमा हाल टप १६ मा पर्न सफल भएका छिन् । अरबिन्द झा तथा गायत्री मिश्रकी सुपुत्री सुषमा बुवाबाटै सङ्गीत प्रारम्भिक ज्ञान हासिल गरेकी छिन् ।
आफ्नै कडा मेहनतबाट गायन क्षेत्रमा जम्दैआएकी उनी मैथिली साहित्य परिषद्, मिथिला साहित्य कला प्रतिष्ठान लगायत स्थानीय स्तरमा आयोजित कार्यक्रमहरुबाट चर्चामा आएकी हुन् । सुमधुर स्वरकी धनी सुषमाले नेपाल तथा भारतमा आयोजित दर्जनौं ठूला कार्यक्रमहरुमा आवाजको जादु पस्केर दर्शकहरुको मन जित्न सफल भएकी छिन् ।
राजविराज स्थित पाराडाइज कलेजमा विज्ञान विषय लिएर कक्षा १२ मा अध्ययनरत सुषमा सानैदेखि गायिका बन्ने संकल्पका साथ साधनारत रहँदैजाँदा उनले नेपाली लोकस्टारमा फारम भरेर पहिलो पटक जनकपुरमा आयोजित अडिसनमा सहभागी भएकी थिइन् । कोकिलकण्ठी आवाजमा उनले गाएको मैथिली गीत ‘उगना रे मोर कतए गेलाह’ गीतले निर्णायकहरुको मन जित्दै लोकस्टारका लागि छनौट हुन सफल भइन् ।
मधेशको माटोमा हुर्किएकी उनी नेपाल लोकस्टारमा हालसम्म दुई ओटा मैथिली र दुई ओटा नेपाली गीत गाएकी छिन् । ‘उगना रे मोर कतए गेलाहख’, ‘चानन भेल विषम रे’, साउने खोला, गलबन्दी, लगायतका गीत गाइन् । हालसम्मकै प्रस्तुतिहरुमा उनले रविराज साहसँग गाएको ‘गलबन्दी’ले यतिबेला दर्शकहरुमाझ निक्कै चर्चा पाएको छ । सुषमाले गाएको गीत र उनको गायन शैलीका कारण उनी दर्शकहरु मात्र नभई निर्णायकहरुबाट समेत प्रशंसा बटुलेकी छन् ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…