धनुषाको खजुरीमा 'बजारशेड' को लफडा, फेसबूकमा लेखेपछि युवक अस्पताल भर्ना !
३० लाख रुपैयाँ बढी बजेट बजार शेड निर्माणको लागि विनियोजन गरिएको थियो ।

२०७६ भदौ ३ मंगलबार, बिहान ९:४५ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको खजुरीमा बजारशेड निर्माणलाई लिएर विवाद उत्पन्न भएको छ ।
केही महिना अगाडी मात्र धनुषाको जनकनन्दीनी गाउँपालिकाको वडा नं. ४ खजुरी बजारमा निर्माण गरिएको बजारशेड (बजार लगाउनको लागि निर्माण गरीएको अस्थायी टहरा जस्तै जस्तापाताको घर) ढलेपछि विवाद उत्पन्न भएको हो । निर्माण गरिएको बजारशेड भत्किएपछि स्थानीय एक युवकले फेसबुकमा लेखेपछि उनलाई मरनासन्न गरी कुटपिट गरिएको हो ।
स्थानीय २४ बर्षिय जयनाथ पण्डितले फेसबुक पेजमा – "असारे बिकासको असर !
केही दिन अगाबै जनकनन्दनी गाँऊपालीकाको खजूरी ४ मा अबस्थीत खजूरी बजारको पश्चीम पट्टी बाट निर्माण गरिएको बजार सेटको अवस्था ऐक महिना न बित्दै मूनी दिएको तस्बीरमा स्पस्ट देखीन्छ । बजार सेट सँग सम्बन्धित र केही गाउँ का मान्छे सँग को सोधपुछ ले बजार सेट १५ दिन को दबाबमा पोखरी मा नया भरोट माटो हाले को र माथि बाट आए को ठूलो बाढी ले गर्दा बजार सेट को अवस्था यस्तो भए को छ । १९ लाख को लगानी मा अशोक मंडल को अध्यक्षता मा निर्माण भएको बजार सेट को अवस्था यस्तो हुनु मा तपाईंको विचार अवस्य कमेन्ट मार्फत शेयर गर्नु होला"- भनेर लेखेका थिए ।
उक्त पेजमा माथिकै कुरा लेखेपछि आक्रोसित उपभोक्ता समितिका अध्यक्ष अशोक मण्डल सहित उनका आसेपासेहरुले समेत पण्डितलाई निर्घात कुटपिट गरेको पीडित पक्षले जनाएको छ । पीडित पण्डितका अनुसार आफू फेसबुकमै लेखेका कारण समितिका अध्यक्ष मण्डल सहित स्थानीय सुनिल मण्डल लगायतले निर्घात कुटपिट गरेको अरोप लगाए । कुटपिट पश्चात घाईते भएका पण्डितको उपचार जनकपुर अञ्चल अस्पतालमा गराइएको थियो भने थप उपचारको लागि धरान लगिएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर कार्कीका अनुसार, घाईते पण्डितको अवस्था समान्य रहेको छ र पीडित आफैले थप उपचार भन्दै धरान रिफर गराएका हुन् । उनलाई टाउको र मुखमा चोट लागेको छ ।
यता, आरोप लगाइएका सुनिल मण्डल, अशोक मण्डलले फेसबुकमा बदनामी तथा तथानाम लेखेको कारण सम्झाउन जाँदा उल्टै आफूहरु उपर हातपात गरेको दाबी गरेका छन् ।
पीडितका अनुसार स्थानीय फेसबुकमै लेखेको कारण उपभोक्ता समितिका अध्यक्ष अशोक मण्डल, राजपाका धनुुषा जिल्ला उपाध्यक्ष सुनिल मण्डल ,सचिन मण्डल ,वृक्षा मण्डल लगायतका समुहले आफु एक्लै भएको समयमा घेरा हाली निर्घात कुटपिट गरेको आरोप लगाइएको छ । उनले भने, - "अब बेतिथि र भ्रष्टाचार विरुद्ध बोल्नै नहुने ? गाउँको यथास्थितिलाई सँचार गर्न सकिन्छ, त्यसकै आडमा चित्त नबुझेको खण्डमा सहकार्य वा कानुनी उपचार खोज्नुको सट्टा पञ्चायती व्यवस्था झैं कुटपिट गर्नु कतिको उचीत हो र ? कानुन छैन देशमा ?"
यता, जनकनन्दीनी गाउँपालिकाकी उप प्रमुख भारती कार्कीले घटनालाई पुष्टि गर्दै कुटपिट कसले गरेको बारे आफूलाई थाहा नभएको बताइन । उनले अहिलेसम्म त्यो घटनाको बारेमा कुनै उजुरी न्यायिक समितिमा नआएकोले यसबारे थप केही भन्न नमिल्ने बताइन् । सहकारी सँस्थाको सहयोगमा निर्माण भएको बजारशेड असार मसान्त भएकोले बर्षाका कारण माटो सुक्न नपाएर पक्की ढलान तल धँसेको बताइन् ।
यस घटना उपर बोल्दै जनकनन्दीनी गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष हरिचन्द्र कामतले फेसबुकमा लेखिएपछि घटना भएको जीकिर गरे । उनले बजार शेड निर्माणको लागि एक सहकारी सँस्थाले ३० लाख रुपैयाँ बढी बजेट विनियोजन गरी असार मसान्तभित्रै निर्माण कार्य सम्पन्न गर्नुपर्ने बाध्यताका कारण बर्षातको मौसममा सुख्खा माटो नहालिएको कारण पनि भत्किएको बताए । उनले भने, - "अब फेसबुकमै लेखेको कारण पनि कुटपिट गर्नु न्यायिक होईन, दोषीलाई कानुन बमोजिम कारवाही हुनुपर्छ ।"
एक सहकारी सँस्थाको लगानीमा निर्माण गरिएको उक्त बजारशेड निर्माण कार्यको लागि उपभोक्ता समिति समेत गठन गरिएको थियो । स्थानीय अशोक मण्डलको अध्यक्षता उपभोक्ता समिति गठन गरी बजारशेड निर्माणको लागि प्रक्रिया अगाडी बढाउँदै गत असारमा मात्र निर्माण कार्य सम्पन्न गरिएको थियो । योजना अनुसार एक महिनाभित्रै निर्माण कार्य सम्पन्न गर्नुपर्ने थियो । ३० लाख रुपैयाँ बढी बजेट बजार शेड निर्माणको लागि विनियोजन गरिएको थियो ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…