रक्तनली सम्बन्धी रोग छ ? लक्षण र बच्ने उपायहरुबारे थाहा पाईराख्नुस्
आवश्यक परेमा इन्ट्रालेजनल स्टेरोइड इन्जेक्शन, स्क्लेरोथेरापि, फिडर लाइगेशन तथा एक्सिजन (क्षेदन) गर्न सकिन्छ ।

२०७६ साउन २४ शुक्रबार, बेलुकी ६:४९ बजे४ मिनेट पढाइ

परिचय
हालसालैका दशकहरुमा सम्पूर्ण विश्वमा भइरहेको विभिन्न किसिमका नसर्ने रोगहरुको वृद्धि सँगसँगै हृदय एवं रक्तनलीसम्बन्धी रोगहरु पनि तीव्र रुपमा वृद्धि भइरहेका छन् । र नेपाल यसको अपवाद होइन । रक्तनलीसम्बन्धी रोग एउटा विशेष किसिमको रोग हो किनभने यसले शरीरका प्रायः सम्पूर्ण अंगहरुलाई असर पु¥याउन सक्छ । रक्तनलीसम्बन्धी अधिकांश रोगहरु एवं तिनको संक्रमण–प्रकृयाको निदानका लागि सुविधासम्पन्न प्रतिबिम्ब प्रणाली (जस्तै यू.एस.जी.) को आवश्यकता पर्दछ । नेपालमा अझै पनि अधिकांश बिरामीहरु यसबारे अनभिज्ञ छन् । सायद, यही कारणले बिरामीहरु रक्तनलीसम्बन्धी रोगहरु लिएर शल्य–चिकित्सकहरुका पुग्दा बिलम्ब भइसकेको हुन्छ । यहाँ रक्तनलीसम्बन्धी केही प्रसिद्ध रोगहरुको सूची दिइएको छ जसको शंका लागेमा बिरामीलाई समुचित निदान एवं उपचारका लागि तत्काल रक्तनलीसम्बन्धी विभागमा लैजानुपर्दछ ।
भेरिकोज नसा (शिरा)
छालामुनि छाम्न सकिने र प्रायः गोडातिर पाइने फुलेका नसाहरुलाई भेरिकोज नसा (शिरा) भनिन्छ । यस्ता शिराका भल्भहरु कमजोर अथवा नष्ट भएका हुन्छन् । यसका कारणहरु लामो समयसम्म उभिनु, मेदोरोग, न्यून शारिरीक गतिविधिहरु, गोडामा चोटपटक लाग्नु र पारिवारिक इतिहास आदि हुन् । प्रायः यसका लक्षणहरु थोरै हुन्छन् तर कसै–कसैले पूर्ण लक्षण अथवा भेरिकोज नसामा पीडाको अनुभव गर्न सक्छन् । साधारणतया, बिरामीको परिक्षण एवं यू.एस.जी. बाट यस रोगको निदान गरिन्छ । यसको उपचारमा जीवनशैलीको परिवर्तन अथवा औषधीको सेवन पर्दछन् । जीवनशैलीको परिवर्तनमा संकोचन, व्यायाम, गोडा माथि उचाल्नु, तौल घटाउनु आदि पर्दछन् । औषधी उपचारमा रेडियो– फ्रिक्वेन्सी एब्लेशन, स्क्लेरोथेरापि, लेजर सर्जरी तथा फ्लेबेक्टोमि पर्दछन् । हालसालै, धुलिखेलमा भेरिकोज नसाको शल्यक्रिया गराएका ५३३ बिरामीमाथि गरिएको सर्वेक्षणअनुसार शल्यक्रिया प्रायः पुरुष बिरामीमा बढी गरिन्छ र शल्यक्रियापछि जटीलताहरु विरलै देखिन्छन् ।
पेरिफेरल आर्टेरियल रोगहरु
पेरिफेरल आर्टेरियल रोगहरुले प्रायः हातगोडाका धमनीहरुमा असर पु¥याउँदछन् । असर पुग्ने कारण एथेरोस्क्लेरोसिस, थ्रोम्बो–इम्बोलिजम, धूम्रपान तथा हातगोडाको क्लाउडिकेशन (केही समय हिँड्दा दुख्ने र विश्राम गरेपछि निको हुने रोग) हुन् । यस रोगलाई उपेक्षा गरेमा यसले विश्राम गर्दा दुख्ने, प्रभावित अंगको कार्यक्षमता नाश गर्ने एवं गांग्रिन उत्पन्न गर्ने कार्य गर्दछ । यस रोगका विभिन्न उपचार पद्धतिहरु छन्, जस्तैः धूम्रपान नगर्ने, औषधि सेवन गर्ने एवं पेरिफेरल आर्टेरियल बाइपास सर्जरी गर्ने इत्यादि ।
डिप भेन थ्रोम्बोसिस
गहिरा शिराहरुमा अवरोधका कारणले डिप भेन थ्रोम्बोसिस हुने गर्दछ र यो प्रायः पेट तथा गोडाका गहिरा शिराहरुमा हुने गर्दछ । यसका अन्य महत्वपूर्ण सहायक कारणहरुमा वंशाणुगत डि.भि.टि., चोटपटक, लामो समयसम्म अंग सञ्चालन नगर्नु र शल्यक्रिया आदि पर्दछन् । यस रोगमा प्रायः बिरामीका हातगोडाहरु सुनिन्छन् र हिँड्न सुरु गर्नेबित्तिकै पीडा हुन्छ । यस्तो रोगीलाई तत्काल अस्पतालमा भर्ना गरेर मुख एवं मलद्वारबाट एन्टि – कोअगुलेन्ट हरु चलाउनुपर्दछ । यस रोगलाई उपचार नगरीकन छोडेमा थ्रोम्बस वृद्धि भएर कहिलेकाहीँ पल्मोनरी इम्बोलिज्मजस्ता प्राणघातक जटीलताहरु पनि उत्पन्न हुन सक्छन् ।
रेनौड्स फेनोमेनोन
प्रायः अति चिसो वातावरणका कारणले रक्तनलीहरु संकुचित भएर हात र गोडाका औँलाका टुप्पाहरुमा अकस्मात् रक्तसञ्चारको कमी हुनुलाई रेनौड्स फेनोमेनोन भनिन्छ । कुनैकुनै अवस्थामा यसले प्रभावित औँलामा गांग्रिन उत्पन्न गराइदिन सक्छ । यसलाई सपोर्टिभ मेजर तथा औषधि सेवनद्वारा उपचार गर्न सकिन्छ ।
डायबेटिक फुट
लामो समयसम्म डायेबेटिज मेलाइटस भएपछि आउने जटीलताहरुमा डायबेटिक फुट पनि पर्दछ । डायबेटिज मेलाइटसका कारणले पेरिफेरल नर्भको कार्यक्षमता नष्ट भएपछि बिरामीको पीडा अनुभव गर्ने क्षमता घट्दै जान्छ । यसको अर्थ हो, स–साना चोटपटकहरु लामो समयसम्म थाहा लाग्दैनन् । त्यसैगरी, घाउ निको हुन पनि लामो समय लाग्दछ । डायबेटिक फुटको रोकथामका लागि समयमै रोगको निदान गरी डायबेटिक फुट अल्सरेशनबाट बचाउने एवं बिरामीलाई आत्म–परिक्षण एवं घाउको समुचित हेरचाह गर्ने शिक्षा दिनुपर्दछ । रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्नु महत्वपूर्ण छ । डायबेटिक फुटको उपचारमा प्रतिजैविकी औषधीहरु, ओर्थोपेडिक सामग्रीहरुको प्रयोग एवं टोपिकल ड्रेसिंग पर्दछन् ।
रक्तनलीमा चोटपटक
कुनैकुनै ठूलाठूला चोटपटक लाग्दा रक्तनलीहरुमा लासरेशन, ट्रान्जाक्शन र थ्रोम्बोसिसका रुपमा विभिन्न चोटपटकहरु लाग्न सक्छन् । यसले अत्यधिक रक्तप्रवाह एवं शरीरका अंगहरुमा रक्तसञ्चारको कमी गराउन सक्छ । यसलाई रोक्नका लागि रक्तप्रवाह रोक्ने एवं आवश्यक परेमा रक्तनलीको मर्मत एवं कृत्रिम रक्तनलीको प्रत्यारोपण गर्नुपर्दछ ।
रक्तनलीजन्य विषमताहरु
यसअन्तर्गत रक्तनलीहरुबाट उत्पन्न हुने असामान्य घाउहरु पर्दछन् । यसअन्तर्गत भास्कुलर ट्युमर जस्तैः हेमान्जिओमा अथवा भास्कुलर माल्फर्मेशन (भेनस माल्फर्मेशन, आर्टेरियोभेनस माल्फर्मेशन आदि) आदि पर्दछन् । प्रायः यी रोगहरु पिग्मेण्टेड लेजन, रक्त–प्रवाह एवं डिफर्मिटी आदि लक्षणहरु हुन्छन् । यसको निदानका लागि सावधानीपूर्वक प्रिअपरेटिभ इभ्यालुएशन गरेर त्यहीअनुसार उपचार गर्नुपर्दछ । आवश्यक परेमा इन्ट्रालेजनल स्टेरोइड इन्जेक्शन, स्क्लेरोथेरापि, फिडर लाइगेशन तथा एक्सिजन (क्षेदन) गर्न सकिन्छ ।
डा. रबिन मान कर्माचार्य डा. ऋषिराम अधिकारी
शल्य चिकित्सक (मुटु, फोक्सो तथा रक्तनली विशेषज्ञ)
धुलिखेल अस्पताल
भास्कुलर हटलाईनः ९८०१००२४७८ (रक्तनलीसम्बन्धी रोगहरुबारे जान्नका लागि सम्पर्क)
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…