जनमत पार्टीको १ करोड वृक्षारोपन अभियान तीव्र
जनमत पार्टी गठन भएको केहि दिनपछि पार्टीले मधेशमा १ करोड वृक्ष लगाउने घोषणा गरेको थियो ।

२०७६ साउन २३ बिहीबार, राति १०:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टीको १ करोड वृक्षारोपण अभियानलाई तीव्रता दिएको छ ।
पर्यावरण जोगाउन जनमत पार्टीले घोषणा गरेको वृक्षारोपण अभियान अन्तर्गत वृक्षारोपण कार्यलाई तीव्र पारिएको हो ।
वन र वृक्ष विनाशका कारण जनजीवन प्रभावित हुने खालका प्राकृतिक प्रकोपहरुले तर्साउन थालेपछि पर्यावरण बचाउन डा. राउत नेतृत्वको जनमत पार्टीले १ करोड वृक्षारोपण अभियानको घोषणा गरेको थियो । सोही अभियान अन्तर्गत पार्टीले उच्च प्राथमिकताका साथ वृक्षारोपणलाई अघि बढाएको छ ।
पार्टीले लिएको लक्ष्य अनुरुप डा. राउतका समर्थक तथा पार्टीमा आवद्ध कार्यकर्ताहरु जोडतोडले वृक्षारोपणमा सक्रिय देखिएका छन् । जनमत पार्टीका नेता कार्यकर्ताहरु वृक्षारोपणको लक्ष्य पूरा गर्न विभिन्न सम्बन्धित निकायहरुसँग विरुवा सहयोग मागेर वृक्षारोपण कार्यमा कम्मर कसेर लागेका छन् ।
यसैबीच, पार्टीले सिरहामा पनि वृक्षारोपण कार्यलाई अघि बढाएको छ । वृक्षारोपणका लागि जनमत पार्टीलाई सब डिभिजन कार्यलय बन्दिपुरले विभिन्न जातका ३० हजार विरुवा उपलब्ध गराएको छ भने सब डिभिजन कार्यालय गोलबजारले ४० हजार विरुवा उपलब्ध गराएको छ ।
वृक्षारोपणका लागि विरुवा सहयोग मागेपछि ७० हजारबढी विरुवा सहयोग पाएको जनमत पार्टीका केन्द्रीय सदस्य राजकुमार यादव (त्यागी) ले जानकारी दिए । जनमत पार्टीले मानव जीवनका लागि वृक्षको महत्त्व बारे गाउँगाउँमा जनचेतनामूलक कार्यक्रम पनि चाँडै गर्ने भएको छ । सब डिभिजन कार्यालय बन्दिपुरले यस कार्यक्रमको लागि सहयोगको आश्वासन दिएको त्यागीले जनाए ।
तत्कालीन स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. राउतको नेतृत्वमा जनमत पार्टी गठन भएको केहि दिनपछि पार्टीले मधेशमा १ करोड वृक्ष लगाउने घोषणा गरेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…