नारिया गिरी प्रकरण : कारवाहीको लागि मधेशी आयोगलाई ज्ञापनपत्र
मधेशीको स्वभिमानसँग खेल्नेलाई कारवाहीको दायरामै ल्याएर सबक सिकाउनुको विकल्प नरहेको भन्दै त्यसै नछाड्न माग गरिएको हो ।

२०७६ साउन २० सोमबार, बिहान ९:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । मधेशी समुदायलाई धोती र धोतीनी भनेर अपशब्द प्रयोग गरेकी पहाडी समुदायकी नारिया गिरीलाई कारवाहीको माग गर्दै मधेशी आयोगलाई ज्ञापनपत्र बुझाइएको छ ।
केही दिनअघि कमेडीको नाममा एउटा भिडियो मार्फत् मधेशी समुदायको अस्मिता र स्वभिमान माथि नै ठेस पुर्याउने गरी व्यंग्य गरेकी काठमाडौंकी नारिया गिरीलाई कारवाहीको माग गर्दै तराई मधेश राष्ट्रिय परिषद् (टिएमएनसी) ले आयोगलाई ज्ञापनपत्र बुझाएको हो ।
लाफ नेपाली कमेडी यूट्युब च्यानलबाट प्रशारण हुने स्टेण्डप कमेडीको एक श्रृंखलामा मधेशी समुदायका छात्रलाई धोती केटो तथा मधेशी मूलकी नेपाली छात्रालाई धोतीनी भनेर शब्द प्रयोग गरेकी गिरीको भिडियो समाजिक संजालमा सार्वजनिक भएपछि उनलाई कारवाहीको दायरामा ल्याउन माग गर्दै नेपालको संवैधानिक अंग मधेशी आयोगका अध्यक्ष बिजय दत्तलाई ज्ञापनपत्र बुझाइएको छ ।
हालाकी, गिरीले अपशब्द प्रयोग गरेको भिडियो समाजिक संजालमा आएलगत्तै न्यूज ब्यूरोले 'कमेडीको नाममा फेरी पनि मधेशी समुदाय उपर प्रहार' शिर्षकको समाचार प्रकाशित गरेपछि मधेशी आयोग एक्सनमा आएको थियो भने गिरीले पनि आफ्नो फेसबूक अकाउन्ट् मार्फत् माफी मागेकी थिइन् ।
मधेशी समुदायको अस्मिता र स्वभिमान उपर नै आँच आउने गरी पटकपटक निरन्तर रुपमा हुँदै आएको प्रहार रोक्न कारवाहीको दायरामै ल्याएर सबक सिकाउनुको विकल्प नरहेको भन्दै त्यसै नछाड्न माग गरिएको हो ।
मधेशी समुदाय उपर प्रहार गरेकी गिरीलाई कारवाहीको लागि टिएमएनसीका सदस्य गुरुशरण सिंह (आभास गुरु), अशोक यादव, राज कुमार महतो (राज सिंहानिया), चन्दन साह, औरन्जेब अहमद लगायतका युवाहरुको समूहले आयोगलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझाउँदै टिएमएनसीमा सदस्यहरुले मधेशी समुदायको स्वभिमान रक्षाको लागि कडा कदम चाल्न आयोगलाई आग्रह गरे ।
आयोगका अध्यक्ष दत्तले यस घटना उपर आफू गम्भीर रहेको र गिरीलाई कारवाही तथा यो क्रम रोक्न आवश्यक कदम चाल्ने आश्वासन दिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…