आज घरघरमा 'नाग' को पूजा
तराई मधेशमा नागपँचमी भएपछि मात्र गँगटो (कोकरा) खान पाइने पनि प्रचलन रही आएको छ ।

२०७६ साउन २० सोमबार, बिहान ८:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आज नाग पञ्चमी, घरको मूल ढोकामा नागको तस्बिर टाँसेर पुजा आजा गरी नाग पञ्चमी (नगपाँच) पर्व मनाइदै छ ।
हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नाग पञ्चमी पर्व मनाउने गरिन्छ । आज विहानै उठी स्नान गरी घरको मूल ढोकामा नागका तस्बिर टाँसी पुजा आजा गर्नाले मेघ,सर्प र अग्निको डर नहुने जनविश्वास रही आएको पाइन्छ ।
आजका दिन नागराजसँग ब्रह्माको संवाद भएकाले नागपूजा गर्न थालिएको वराह पुराणमा उल्लेख गरिएको छ । आज अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागको पूजा गरी दुबो, गाईको दूध, अक्षता आदि चढाइएका घरमा मेघ, अग्नी र नागको डर नहुने जनविश्वास छ ।
साथै नागको पुजा आजा गर्नाले सर्पै र चट्याङको डर नहुने र देशमा सुख शान्ति एवं समृद्धिको वर्षा हुने धार्मिक विश्वास रहि आएको छ । आजका दिन आफ्ना कुलनागका थानमा पनि विशेष रूपमा पूजा गरी खीर, रोटी लगायतका प्रसाद चढाउने गरिन्छ ।
यस्तै आजका दिन काठमान्डौ नक्सालको नागपोखरी, टौदह, धापाखेलको नागदह,झक्तपुरको सिद्धपोखरी,पनौति लगायत मुलुकभरका नागपोखरी र नागदहमा मेला लाग्दै छ । नागपँचमी तराई मधेशमा गोबरको नाग द्धारको भित्तामा बनाएर मनाइने गरिन्छ । यसका साथै मुसाले उखेलेको माटो र त्यसमा धानको लाबा बनाएर घर भित्र र बाहिर छर्ने गरिन्छ ।
तराई मधेशमा नागपँचमी भएपछि मात्र गँगटो (कोकरा) खान पाइने पनि प्रचलन रही आएको छ । नागपँचमी अघि गँगटो खाँदा धानको गुछा काटीदिने भएकोले नागपँचमीको प्रतिक्षामा सर्वसाधारणहरु हुन्छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…