बाढीपछि नगरवासीको लागि मेयर बरबरियाको निःशुल्क स्वास्थ्य शिविर
अन्य आसपासका नगरपालिकाबाट समेत आएका सर्वसाधारणहरुले मेयर बरबरियाको पहललाई प्रशंसा गरेका थिए ।

२०७६ साउन १८ शनिबार, राति ११:०८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । बाढीका कारण हुन सक्ने संक्रमणलाई मध्यनजर गर्दै धनुषाको शहिदनगरका मेयर उदय कुमार बरबरियाले नगरवासीको लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेका छन् ।
शनिबार शहिदनगर नगरपालिका र समुदाय प्रहरी साझेदारी यदुकोहाको संयुक्त आयोजनमा नगरवासीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै एक दिने निःशुल्क स्वास्थ्य शिविर सँचालन गरी सेवा प्रदान गरेका हुन् । बाढी पछि हुन सक्ने समाधारण वा जटिल संक्रमणलाई मध्यनजर गर्दै नगरवासीहरुको लागि विभिन्न रोगका विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क स्वास्थ शिविर संचालन गरी सेवा प्रदान गरेको मेयर बरबरियाले बताए ।
शनिबार विहान ८ बजेदेखि सुरु भएको उक्त शिविरलाई उदघाटन गर्दै धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले प्राकृतिक प्रकोपपछि हुन सक्ने हानी नोक्सानीलाई खयाल गरी एक असल जनप्रतिनीधि र असल नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै मेयर बरबरियाको कार्यप्रति सराहना गरे । मेयर बरबरियाकै अध्यक्षतामा सम्पन्न उदघाटन समारोहमा जिल्लाका विभिन्न सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो ।
सो क्रममा जनकपुरका नागरिक समाजका अगुवा अमर चन्द्र अनिल, धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनाल, सशस्त्र प्रहरीका प्रहरी उरीक्षक एसपी राजेश उप्रेति, नेपाली सेनाका कर्नेल अन्जन रुपाखेती लगायतका उच्च पदस्थ अधिकारीहरुले मेयर बरबरियाले समसमायिक रुपमा गरेको नगरवासी उपरको पहल र निगरानीलाई असल जनप्रतिनीधिको कर्तव्य पालनाको लागि सराहना गरे ।
निःशूल्क स्वास्थ्य शिविरमा नगरका १२ सय ५ जना महिला तथा ६ सय ४० जना पुरुष गरी झण्डै २ हजारको हारहारीमा सेवाग्राहीहरुले लाभ लिएको बताइएको छ । ११ जना चिकित्सकहरुको टीमद्धारा नगरवासीलाई चेकजाँच गरिएको हो । उक्त शिविरमा महिला विभागका विशेषज्ञ (गाइनोलोजिस्ट) डा. राम नरेश पण्डित, पेडिटिरिसियन डा. जामुन प्रसाद सिँह, फिजिसिएन डा. आरपी चौधरी, सर्जन डा. सँजय चौधरी, फिजिसिएन डा. जीतेन्द्र यादव, अर्थोपेडिसिएन डा. अमित मिश्रा, डरमाटोलोजिस्ट डा. रमेश कुमार यादव, पेडिटरिसिएन डा. विभास गोईत, डरमाटोलोजिस्ट डा. राम ज्ञान यादव, अर्थोपेडिएन डा. रातिश सिँह र गाईनोलोजिस्ट डा. रामजी यादव लगायतका अनुभवी एवम् वरिष्ठ चिकित्सकहरुको टीमद्धारा सेवा प्रदान गरिएको हो । उनीहरुले चिकित्सक संघको हैसियतले पनि सहयोग गरेको बताइएको छ ।
सो शिविरमा समाजिक सँस्था मानव विकास केन्द्रद्धारा निःशुल्क शिविरमा सेवा लिन आउने सर्वसाधारणहरुमध्ये औषधीका आवश्यकहरुको लागि नगद रु. २१ हजार रुपैयाँ उपलब्ध गराएका थिए । सो शिविरमा नगरकी उपप्रमुख शिला देवी कापर, ईलाका प्रहरी यदुकोहाका इंस्पेक्टर दीपक वाबू केसी, शसस्त्र प्रहरी यदुकूहाका इंस्पेक्टर किस्मान तमांग, ९ वटै वडाका वडाध्यक्षहरु, सदस्यहरु लगायत स्थानीय बुद्धिजीवी, सँचारकर्मी, महिला अधिकारकर्मी, मानवअधिकारकर्मी, महिला, युवाहरुको समेत उल्लेख्य सहभागीता रहेको थियो ।
निःशुल्क शिविर पश्चात नगरको विभिन्न वडासहित अन्य आसपासका नगरपालिकाबाट समेत आएका सर्वसाधारणहरुले मेयर बरबरियाको पहललाई प्रशंसा गरेका थिए ।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…