विद्यालयको होस्टेलबाट मध्यरात पसलमा चोरी गर्न गएका विद्यार्थी पक्राउ परेपछि...
अधिकांश विद्यालयले गुणस्तरीय र संस्कारयुक्त शिक्षा भन्दा पनि व्यापारमा जोड दिएको देखिन्छ ।

२०७६ साउन १८ शनिबार, बिहान १०:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । विद्यालय भनेको विद्या अर्थात् शिक्षा आदानप्रदान गर्ने थलो हो । ज्ञानको भण्डार हो । जहाँ शिक्षक माथि कलिला बालबालिकालाई असल नागरिक बनाउने ठूलो जिम्मेवारी हुन्छ ।
एउटा विद्यार्थीलाई असल नागरिक बनाउन त्यस किसिमको वातावरण आवश्यक हुन्छ । विद्यार्थीमा कस्तो संस्कार बसाल्ने हो भन्नेमा विद्यालय र शिक्षकको अहम भूमिका हुन्छ । त्यसमा पनि विद्यालयको होस्टेलमै बस्ने विद्यार्थी गलत बाटोमा लागेपछि 'विद्यालयले कस्तो संस्कार दिएको हो ?' भनेर प्रश्न उठ्छ ।
सिरहाको मिर्चैयामा मध्यराति यस्तै भएको छ । मिर्चैया-कल्याणपुर सडकखण्डमै पर्ने मिर्चैया नगरपालिका ५ स्थित बजार नजिकै रहेको एक पसलमा मध्यरात १ बजेतिर चोरी गर्न गएका विद्यार्थी ताल्चा तोड्दै गर्दा पक्राउ परेका छन् ।
मिर्चैयामा अवस्थित अरुणोदय माविमा अध्ययनरत चोरी गर्न गएका ३ जनामध्ये १ जना बालक पक्राउ परेका छन् भने २ जना फरार भएका छन् । राति सबै सुतेपछि विद्यालको होस्टेलबाट बाहिर निस्केर रडले पसलको ताल्चा तोडिरहेको अवस्थामा पक्राउ गरिएको हो ।
खटखट आवाज सुनिएपछि पसलका संचालक डेराबाट निस्केर हेर्दा विद्यालयकै टिसर्ट लगाएका ३ जना रडले ताल्चा तोडिरहेका थिए । ताल्चा तोडिरहेको हेरेपछि पसलेले उनीहरूलाई समात्न खोजेपनि १ बालकलाई मात्र समात्न सके । बालक भएकै कारण उनलाई पसल संचालकले सुरक्षित राखेर प्रहरीमा खबर गरे । अहिले बालक प्रहरीमै छ ।
यसअघि पनि त्यही जोडिएर रहेको पसलमा करिब २४ हजार बराबरको सामान चोरी भएको थियो । यस उपर थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुकदेव खनालले जनाएका छन् ।
अहिले जताततै प्रतिस्पर्धात्मक रुपमा निजी विद्यालय खुल्ने क्रम तीव्र छ । तर, अधिकांश विद्यालयले गुणस्तरीय र संस्कारयुक्त शिक्षा भन्दा पनि व्यापारमा जोड दिएको देखिन्छ । गैरजिम्मेवार विद्यालयहरुको लापरवाहीका कारण कलिला विद्यार्थीहरुको भविष्यसँग खेलवाड भइरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
विनय कुमार यादव
सह-सम्पादक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…