राजपा बैठक : यी १५ एजेण्डामा छलफल सुरु, कुनैपनि बेला आन्दोलन, सपासँग एकता ?
तराई मधेशको बाढीमा केन्द्रीय सरकारले केही गर्न नसकेको आरोप लगाएको छ भने सरकारलाई राहत वितरणमा विभेद नगर्न राजपाले चेतावनी पनि दिएको छ ।

२०७६ साउन १४ मंगलबार, बेलुकी ७:३३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्षमण्डलको बैठक सकिएको छ । बबरमलस्थित पार्टी कार्यालयमा आज (मंगलबार) बसेको अध्यक्षमण्डलको बैठकमा विभिन्न १५ वटा एजेण्डा प्रस्तुत भएको छ ।
बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक र राजपाको भूमिका, बाढी पहिरोबाट पीडित जनताको राहतको बारेमा, विधानको बारेमा, भातृ संगठनको बारेमा, जिल्ला पार्टी कार्यालय सञ्चालन, पदाधिकारी बैठक, स्थानीय चुनाव लडेका जिल्ला प्रमुखहरु, मेयर उपमेयरहरुको बैठकको बारेमा, प्रदेश र संघीय उम्मेदवार भएकाहरुको बैठक बारेमा, पदाधिकारीहरुलाई जिल्ला जिल्ला खटाइने सम्बन्धमा, महाधिवेशन स्थान, समिहिरुको गठन सम्बन्धमा, वार्ताको प्रगाति बारेमा, केन्द्रीय समितिको बैठकको बारेमा, केन्द्रीय कार्यालय व्यवस्थापनको सम्बन्धमा, विभिन्न विभाग गठन सम्बन्धमा, २ नम्बर प्रदेशको सरकारको सम्बन्धमा एजेण्डा प्रस्तुत गरी छलफल शुरु भएको हो ।
आजदेखि शुरु बैठकमा राष्ट्रिय जनता पार्टीले पार्टी एकताबारे समाजवादी पार्टीसँग औपचारिक संवाद नै नभएको बताएको छ ।
समाजवादी पार्टी, नेपालसँग अनौपचारिक वार्ता भएपनि हालसम्म कुनै निष्कर्ष ननिस्केको बैठकमा छलफल भएको राजपा संयोजक राजकिशोर यादवले जानकारी दिए ।
राजपा नेपालको तर्फबाट वार्ता समितिका संयोजक रहेका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले वार्ताको बारेमा हल्ला भएजस्तो केही प्रगति नभएको कुरा बैठकमा राखेका थिए । भेटघाट र छलफल हुने गरेको तर कुनै कुराको टुङ्गो लाग्न नसकेको महतोले बताए ।
समाजवादी पार्टीसँग एकताका लागि पछि सहमति जुटे एकता हुनसक्ने तर, अहिले कुनै टुंगो नलागेको जनाइएको छ । राजपाले अहिलेलाई राजपाको महाधिवेशनको तयारीमा जुट्न आफ्ना सबै नेता तथा कार्यकर्तालाई आग्रह गरेको छ ।
राजपा अध्यक्ष मण्डलको बैठकले संसदमा कांग्रेससँग भएको सहकार्यप्रति सन्तोष व्यक्त गरेको छ । मिडिया काउन्सिल, सूचना प्रविधिलगायतका विचाराधीन विधेयकको विरोध गरेको छ भने लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र सर्लाही घटनाबारे छानविन गर्न संसदीय समिति बनाउनुपर्ने अडान कायमै राख्ने निर्णय समेत गरेको छ ।
अध्यक्ष मण्डलको बैठकले तराई मधेशको बाढीमा केन्द्रीय सरकारले केही गर्न नसकेको आरोप समेत लगाएको छ । सरकारलाई राहत वितरणमा विभेद नगर्न राजपाले चेतावनी पनि दिएको छ ।
सदनदेखि सडकसम्म आन्दोलन चर्काउँछौं : संयोजक यादव
राजपा नेपालका अध्यक्ष मण्डल संयोजक यादवले सरकार लोकतान्त्रिक मूल्यमान्यता विपरीत काम गरिरहेको ठहर गर्दै यसविरुद्ध राजपाले चाँडै आन्दोलन गर्ने बताएका छन् । उनले भने, ‘सरकार लोकतान्त्रिक मूल्यमान्यता विपरीत काम गरिरहेको छ, हामी यसको साक्षी बन्न सक्दैनौं, विगतमा गरेका प्रतिबद्वता अनुरुप पनि सरकारले काम गर्न सकेको छैन ।’
संयोजक यादवले सरकारबिरुद्व सदनदेखि सडकसम्म आन्दोलनको तयारी हुने बताए । कुनैपनि बेला आन्दोलन हुनेसक्ने भन्दै यसका लागि तयार रहन नेता कार्यकर्तालाई उनले निर्देशनसमेत दिएका छन् । राजपा अध्यक्ष मण्डलको बैठक भोली (बुधवार) पुनः बस्ने जनाइएको छ ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…