बाढीबाट क्षतिग्रस्त घरको पूननिर्माण सहित सडकको मर्मत तत्काल शुरु हुने
प्रदेश सरकारको मेकानिज्म र आवश्यक परे अन्य प्रदेश बाट समेत प्राविधिक सहायता जुटाउने सहमति भएको

२०७६ साउन १२ आइतबार, राति १०:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम | भीषण बाढीका कारण प्रदेश नं. २ मा क्षतिग्रस्त भएका मुख्य सडकहरुको मर्मत कार्य तत्काल शुरु हुने भएको छ ।
बाढीबाट प्रदेशमा भएको व्यापक क्षतिबारे जानकारी गराउनुका साथै पुननिर्माणका लागि सहयोग जुटाउन संघीय राजधानी काठमाण्डौ पुगेको मुख्यमन्त्री लालबाबु राउत सहितको टोली संग संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षतिग्रस्त सडकहरुको तत्काल मर्मत कार्य शुरु गर्ने प्रतिबद्धता जनाएको हो ।
आईतबार विहान प्रधानमन्त्री संग छलफल गरेको सर्वदलिय टोली दिउसो भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठको उपस्थितिमा मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, हुलाकी राजमार्ग परियोजनाका प्रमुख सहित संग सामूहिक छलफल गरेको हो । छलफलमा मुख्यमन्त्री लालबाबु राउतले बाढीका कारण प्रदेशका सबै सडकहरु प्रायः अवरुद्ध भएकोले राहत वितरणमा समेत समस्या भै रहेको गुनासो गरे पछि सडकको मर्मत कार्य तत्काल शुरु हुने भएको हो ।
छलफलमा संघीय भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले सडक मर्मतका लागि सबै शक्ति परिचालन गर्न निर्देशन समेत दिएका छन् । प्रदेश नं. २ को सडक मर्मतका लागि संघीय सरकार मातहतका सडक डिभिजन कार्यालय , प्रदेश सरकारको मेकानिज्म र आवश्यक परे अन्य प्रदेश बाट समेत प्राविधिक सहायता जुटाउने सहमति भएको मुख्यमन्त्री राउतले बताए ।
छलफलमा प्रदेशको तर्फ बाट भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल सहितको सहभागिता रहेको थियो । पुनर्वास तथा पुनःनिर्माणका लागि सहयोग जुटाउने उद्देश्यले काठमाण्डौ पुगेको सर्वदलिय टोली सम्बन्धित पक्षहरु संगको छलफललाई भोली समेत निरन्तरता दिने छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…