अब जनकपुर एयरपोर्टमै हवाई ईन्धन, भाडा दर घट्ने !
मन्त्री यादवले यसले विमान कम्पनीलाई मात्रै फाईदा नभई समग्र जनकपुरको आर्थिक विकासमा समेत टेवा पुग्ने विश्वास लिए ।

२०७६ साउन १० शुक्रबार, दिउँसो ४:३५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम विमानस्थलमा हवाई इन्धन रिफ्यूलिङ्ग स्टेशनको स्थापना गरिएको छ ।
नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले शुक्रबार रिफ्यूलिङ्ग स्टेशनको उद्घाटन गरी बुद्ध एयरको विमानमा ईन्धन हालेर औपचारिक रुपमा शुभारम्भ गरेका हुन् । जनकपुरमा विमानस्थल स्थापना भएको झण्डै ५३ वर्षपछि मात्रै रिफ्यूलिङ्ग स्टेशनको स्थापना गरिएको हो ।
प्रदेश २ को प्रमुख एयरपोर्टको रुपमा रहेको जनकपुरधाम विमानस्थलमा यसअघि काठमाडौ, विराटनगर र भैरहवाबाट उडान हुने विमानहरुले ईन्धन ल्याउने गरेको थियो । यससँगै बाहिरबाट ईन्धन ल्याउने झन्झट समाप्त भएको छ ।
तत्कालका लागि अस्थायी टयांकरमै ईन्धन स्टक राखिने सो स्टेशनको स्टोरका लागि आवश्यक पुर्वाधार निर्माण हुनका लागि कम्तिमा दुई वर्ष लाग्ने जनाइएको छ । हाल सो रिफ्यूलिङ्ग स्टक गर्ने व्यवस्था नरहेका कारण विराटनगर विमानस्थलबाट डिस्पेन्सरमा हवाई इन्धन ल्याएर दुई बाउजर स्टक गर्ने व्यवस्था गरिएको जनकपुर विमानस्थलका स्टेशन ईन्चार्ज सरोज कुमार यादवले जनाए । तत्काल ४१ केएल दैनिक हवाई ईन्धन अस्थायी रुपमा टयांकरमै स्टक राखिने विमानस्थलले जनाएको छ ।
स्थायी स्टोर स्थापनाका लागि नागरिक उडड्यन प्राधिकरणले डिपो स्थापनाका लागि नेपाल आयल निगमलाई ५ कठा जग्गा समेत उपलब्ध गराएको छ । १ सय ४० केएल क्षमताको डिपो दुई वर्षभित्रै स्थापना गर्ने लक्ष्यका साथ काम अगाडी बढाइएको जनाइएको छ ।
रिफ्यूलिङ्ग स्टेशन जनकपुर विमानस्थलमै स्थापना भएपछि विमान कम्पनीका साथै यात्रुहरुलाई समेत विभिन्न दृष्टिकोणले फाईदा हुने भएको छ ।
रिफ्यूलिङ्ग स्टेशन स्थापना भएपछि अल्टरनेटिभ लैण्डिङ्गका लागि काठमाडौं पछि अब जनकपुर विमानस्थल सबैको प्राथमिकतामा हुने विश्वास गरिएको छ ।
रिफ्यूलिङ्ग स्टेशन स्थापनाले जनकपुरमै ईन्धन उपलब्ध भएपछि समय र पैसा दुबैको बचत हुने भएकोले विमान कम्पनीले भाडा दर समेत कम गर्ने बुद्ध एयर जनकपुरका इन्चार्ज विजय सिंहले बताए । रिफ्यूलिङ्ग स्थापनाको कुरा चलेदेखि नै बुद्ध एयर विमान कम्पनीले भाडा दर कम गरिसकेको उनले जनाए ।
४ हजार ३ सय, ३ हजार ८ र ३ हजार ४ सय भाडा रहेकोमा अब तीन हजार ४, तीन हजार २ सय, दुई हजार ८ र दुई हजार ५ सय भाडा दर कायम गरेको छ । साथै उनले ग्राहकको चाप देखेर दुई हजारसम्म भाडा हुन सक्ने समेत जानकारी गराए ।
रिफ्यूलिङ्ग स्टेशनको उद्घाटन गर्दै मन्त्री यादवले यसले विमान कम्पनीलाई मात्रै फाईदा नभई समग्र जनकपुरको आर्थिक विकासमा समेत टेवा पुग्ने विश्वास लिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…